close

हुम्लाका पालिकाभर स्वास्थ्य शिविर

हुम्लाका पालिकाभर स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको सीमकोटमा तीनदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सीमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लाको समन्वयमा गोर्खा आई फियर ट्रस्टको आर्थिक सहयोगमा आँखा, नाक, कान र अपांगता भएकाका लागि शिविर सञ्चालन भएको हो ।

 

हुम्लाका अतिविपन्न, गरिब, तथा लक्षित वर्गका लागि राहत होस् भन्ने उद्देश्यले जिल्लाबाहिरबाट आएको टोलीले निःशुल्क शिविर सञ्चालन गरेको छ ।

 

आँखा, नाक, कान र हातखुट्टामा समस्या भएका व्यक्तिका लागि निःशुल्क औषधोपचार गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरका लागि हुम्लाको सीमकोट आएको शिविर सञ्चालक जय लिम्बूले बताए ।

 

शिविर १२ र १४ भदौसम्म सञ्चालन गर्ने भनिए पनि औषधी र उपकरण जिल्लामा समयमै नपुग्दा एक दिन ढिला गरी १५ भदौसम्म सञ्चालन हुने लिम्बूले जानकारी दिए ।

 

दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा आर्थिक अभावले थप उपचारका लागि जिल्लाबाहिर जान नसक्ने अवस्था रहेका बेला निःशुल्क उपचार गर्न चिकित्सकसहितको टोली हुम्ला पुगेको उनको भनाइ छ।

 

हुम्लाका बिरामीले उपचार गर्न जिल्लाबाहिर जानुपर्दा कम्तीमा १ लाख रुपैयाँ बढी खर्च हुने गर्छ । जिल्लामै विभिन्न रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएपछि खर्च जोगिएको भन्दै नागरिकले खुसी व्यक्त गरेका छन् ।

 

स्वास्थ्य शिविरमा ५ जना विशेषज्ञ डाक्टर र २४ जना स्वास्थ्यकर्मी गरेर २८ जनाको टोलीले विभिन्न रोगका बिरामीलाई सेवा दिइरहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

 

शनिबार पहिलो दिन चंखेली र सर्केगाड गाउँपालिकाका स्थानीयले सेवा लिएका छन् । दोस्रो दिन ताँजाकोट, अदानचुली, खार्पुनाथ गाउँपालिका र तेस्रो दिन सीमकोट र नाम्खा गाउँपालिकाका नागरिकले सेवा लिनेछ ।

 

शिविरमा काडमाडौं, नेपालगञ्ज र पोखराका गरेर जम्मा २८ जना स्वास्थ्यकर्मीको टोली जिल्ला पुगेर सेवा दिइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।