close

मैवाखोला बन्यो कोरोना संक्रमणमुक्त पालिका

मैवाखोला बन्यो कोरोना संक्रमणमुक्त पालिका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– मैवाखोला गाउँपालिका कोरोना संक्रमणविहीन पालिका बनेसँगै ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या १८६ मा झरेको छ । 
सक्रिय संक्रमितको संख्या योभन्दा नबढे प्रशासन कार्यालयले अब निषेधाज्ञा नथप्ने तयारी गरिरहेको छ ।


प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सक्रिय संक्रमितको संख्या २ सय वा सोभन्दा कम भएको अवस्थामा निषेधाज्ञा हटाउने तयारी भइरहेको जानकारी दिए ।
प्रशासन कार्यालयले १५ भदौको मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरेको छ । ‘२ सय वा सोभन्दा कम संक्रमित भए निषेधाज्ञा हटाउँछौँ,’ प्रजिअ पाण्डेले भने ।

 

यहाँका ९ वटै स्थानीय तह तथा स्वास्थ्य कार्यालयसँगको परामर्शमा जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न प्रकाशित गरेको विवरणअनुसार अहिले ताप्लेजुङमा ८.५ प्रतिशत मात्र सक्रिय संक्रमित छन् ।


प्रशासन कार्यालयले १६ जनाको मृत्यु भएको बताएको छ । यहीँका नागरिक तर अन्यत्र मृत्यु भएकासमेतको संख्या जोड्दा कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङका २२ जना नागरिकले ज्यान गुमाएका छन् । प्रशासनले जिल्लाभित्रै मृत्यु भएकाको संख्या मात्र अद्यावधिक गर्ने गरेको छ । 


सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार संक्रमितमध्ये ५ जना ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचार गराइरहेका छन् । 


५ जनाको अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ । ४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको र १ सय ७७ जना होम आइसोलेसनमै रहेर स्वास्थ्यलाभ गरिरहेको प्रशासन कार्यालयले बताएको छ ।


कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा ७ हजार १ सय ४५ जनाको एन्टिजेन र २ हजार २ सय ८८ जनाको पिसिआर गरी कुल ९ हजार ४ सय ३३ जनाको परीक्षण गरिएको छ । 

 

मैवाखोला गाउँपालिका संक्रमण शुन्य पालिका बनेको छ । ताप्लेजुङ जिल्ला अस्पतालमार्फत परीक्षण गरिएका र पाथीभरा याङ्बरक गाउँपालिकामा संक्रमित निको भएपछि बुधबार सक्रिय संक्रमितको संख्या ह्वात्तै घटेको हो ।


प्रशासन कार्यालयका अनुसार पाथीभरा याङ्बरकमा ७८ जना संक्रमित छन् । ताप्लेजुङ जिल्ला अस्पतालमार्फत परीक्षण भएका ६७, फुङ्लिङ नगरपालिका आफैंले परीक्षण गरेका ४ र सानिमा हाइड्रोपावरमा रहेका १ सहित गरी फुङ्लिङभित्र ७२ जना सक्रिय संक्रमित देखिएका छन् । 


यस्तै, आठराई त्रिवेणीमा ४, मेरिङ्देन र मिक्वाखोलामा ६–६, फक्ताङ्लुमा १, सिदिङ्वामा १३ र सिरिजंगा गाउँपालिकामा ६ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले बताएको छ ।