close

सापुको चपेटामा नानीबाबु : साँझपख घरबाहिर ननिस्कन सुझाव

सापुको चपेटामा नानीबाबु : साँझपख घरबाहिर ननिस्कन सुझाव

Trulli
ADVERTISEMENT


ताप्लेजुङ– विद्युत् किफायतका लागि अचेल सेतो चिम (बल्व) प्रयोग गर्ने क्रम बाक्लिँदो छ । तर, यही बल्वका कारण आँखामा लाग्ने सापु रोगले भने सताउने गरेको धेरैलाई थाहा नहुन सक्छ । 

 

नेपाल नेत्र ज्योति संघ/डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इञ्चार्ज काजी गुरुङका अनुसार सेतो पुतलीले सेतो प्रकाश मन पराउँछ । पुतली लाटो हुने भएकाले जता–जता सेतो प्रकाश बलेको छ, ऊ त्यतै–त्यतै झुम्मिन थाल्छ । सेतो प्रकाश मन पराउने त्यो सेतो पुतलीको झुस भुवाजस्तै उड्ने भएकाले बत्ती बालेको ठाउँबाट मानिसको आँखामा झुस बिझ्न गए सापु रोग लाग्ने गुरुङले जानकारी दिए । 

 

नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभाका क्लिनिक इञ्चार्ज क्षितिज बरालका अनुसार सापु दृष्टिनाशक आँखा रोग हो । यो रोग प्रायः बालबालिकामा बढीमा मात्रामा देखापर्ने गर्छ । नेपालको मध्य पहाड तथा तराई क्षेत्रमा यो रोगको संक्रमण बढी देखापर्ने बरालले जानकारी दिए । भदौदेखि मंसिरसम्म सापु रोग बढी मात्रामा देखापर्ने गर्छ । 

डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङका अनुसार सापुले रोमन शब्दमा विशिष्ट अर्थ राख्छ । पहिलो अक्षरले सिजनेबल अर्थात् मौसमी, दोस्रो अक्षरले हाइपर अर्थात् धेरै, तेस्रो अक्षरले एक्युट अर्थात् तुरुन्तै, चौथो अक्षरले पान अर्थात् सबै र पाँचौँले युभिटाइज एट्याक अर्थात् सुन्निएको भागको अर्थ लाग्छ ।


यसर्थ, रोमनमा भनिएको सापुको अर्थ मौसमी संक्रमणका कारण आँखाको पूरै भाग रातो र सुन्निएको अवस्थाको चित्रण हो ।  आँखा विशेषज्ञका अनुसार यो रोग लागे आँखाको पर्दा र नशालगायत भागमा असर गर्छ । पुतलीको झुस आँखामा परेको केही घन्टाको बीचमा नै आँखाको दृष्टि कम हुँदै जाने भएकाले सजगता अपनाउनुपर्छ ।

 

आँखामा सेतो पुतलीको झुस परेको ७२ घन्टाभित्र उपचार नगरे यसले आँखाको ज्योति पूर्ण रूपमा बन्दसमेत गराउन सक्ने गुरुङले जानकारी दिए । ‘सोच्दा सानोजस्तो भए पनि यो अत्यन्तै घातक मानिन्छ’, गुरुङले भने । उनका अनुसार यो रोग सबैभन्दा बढी पहाडी क्षेत्रका मानिसमा देखापरेको पाइन्छ । 

 

रोग देखिएकामध्ये ६५ देखि ७० प्रतिशत १६ वर्षमुनिका बालबालिका रहेकोसमेत उनले बताए । संख्यात्मक हिसाबले करिब ७० प्रतिशत पहाडी क्षेत्रका बासिन्दा यो रोगबाट प्रभावित भएको पाइएको गुरुङको भनाइ छ । एक्कासि एउटा आँखा रातो हुनु, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्कालै कमी हुनु र आँखाको दुखाइ बढ्दै जानु सापु रोगको लक्षण तथा चिन्हको रूपमा बुझ्न सकिन्छ ।

 

जानकारका अनुसार सेतो पुतलीको झुस पर्नासाथ आँखा रातो हुने तथा चिलाउने गर्छ । त्यसपछि क्रमशः उज्यालोमा हेर्न गाह्रो हुने, केही घन्टाको अन्तरालमै आँखाको ज्योति घट्दै जाने र आँखाको दुखाइमा घटबढ हुनेजस्ता समस्या देखा पर्छन् ।  रोगको लक्षण तथा चिन्ह देखा परेको २४ देखि ४८ घन्टाभित्र उपचार नपाए आँखाको दृष्टि गुम्ने वा आँखा सुकेर जाने जोखिम सापु रोगले गराउने गुरुङले जानकारी दिए ।

 

सेतो पुतलीको संसर्गबाट टाढै रहने, साँझको समय घरबाहिर नजाने, घरको झ्याल तथा ढोकामा जाली राख्ने, राती सुत्दा झुल प्रयोग गर्ने, घरआँगनमा सकेसम्म सेतो बत्ती नबाल्ने र सम्भव भएसम्म पहेँलो सिएफएल चिम प्रयोग गर्ने हो भने सापु रोगबाट बच्न सकिने उनले बताए ।

 

गुरुङले कुनै पनि पुतली प्रजाति छोएपछि साबुनपानीले अनिवार्य हात धुन, अनावश्यक रूपमा आँखा नछुन तथा आँखा नमिच्न र प्राथमिक उपचारस्वरूप आँखालाई सफा पानीले पखाल्न सुझाए ।

 

बाली थन्क्याउने समय र सेतो बत्ती सेतो पुतलीका लागि रोजाइमा पर्ने भएकाले आँखा जोगाउन यो बेला अरू समयभन्दा बढी संवेदनशील हुनुपर्ने धारणा गुरुङको छ ।  आँखामा समस्या देखा पर्दा माड्ने, धामी–झाँक्री लगाएर समय बर्बाद पार्ने काम नगर्नसमेत उनको आग्रह छ ।