close

लुम्बिनी प्रदेश सरकारलाई २ करोडको स्वास्थ्य सामग्री 

लुम्बिनी प्रदेश सरकारलाई २ करोडको स्वास्थ्य सामग्री 

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सरकारलाई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले मुख्यमन्त्री एवं स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याणमन्त्री कुलप्रसाद केसीलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । बुटवलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्वस्वास्थ्यमन्त्री दीपक बोहराले मुख्यमन्त्री केसीलाई उक्त सामग्री हस्तान्तरण गरे ।

 

पूर्वस्वास्थ्यमन्त्री बोहराको बुबा स्व. प्रतिमानचन्द बोहरा र आमा स्व. नीमा बोहराको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले यसअघि लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा अस्पताललाई साढे २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिसकेको कार्यकारी निर्देशक स्वाति थापाले बताइन् ।
 
गण्डकी प्रदेशबाट स्वास्थ्य सामग्री वितरण सुरु गरिएको र सोमबार लुम्बिनी प्रदेश सरकारलाई प्रदान गरिएको जानकारी दिइन् । कार्यकारी निर्देशक थापाले भैरहवामा रहेको प्रतिष्ठानले ७ वटै प्रदेशका मुख्यमन्त्रीमार्फत स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको उनको भनाइ छ । प्रतिष्ठानको पहलमा अमेरिकास्थित प्रोजेक्ट होपबाट प्राप्त सामग्री प्रदेश सरकारलाई उपलब्ध गराइएको थापाले बताइन् । कोरोनाविरुद्धको खोपका लागि पनि प्रतिष्ठानले पहल गर्दै आएको र खोप अभियान लुम्बिनी प्रदेशबाटै सुरु गर्ने सोच रहेको उनको भनाइ छ ।

 

वितरित सामग्रीमा गाउन आइसोलेसन ३ हजार ३ सय २० थान, फेस सिल्ड २ हजार १ सय ९० थान, मास्क १४ हजार थान, एन९५ मास्क ३ हजार थान, डिजिटल थर्मोमिटर ३२ थान, प्रोटेक्टिभ फेस सिल्ड ३ हजार १ सय ५० थान, पिपिई (मिडियम) १२० थान, पिपिई (लार्ज), ४६० थान, इमर्जेन्सी रिलिफ बेड ६ थान, ग्लोब्स १ लाख ६६ हजार थान, केएन ९५ प्रोटेक्टिभ मास्क १५ हजार ४ सय थान रहेको प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले जानकारी दिए ।

 

कार्यक्रममा मुख्यमन्त्री केसीले संकटका बेला प्रतिष्ठान प्रदेश सरकारको सारथि बनेको बताए । प्रदेश सरकारले प्रतिष्ठानसँग सहकार्य गर्ने उनको भनाइ छ । ‘नागरिकको जीवन बचाउनु नै सरकारको पहिलो दायित्व हो । सामान्य विकास निर्माण १ वर्ष थाती राखेर खासै फरक पर्दैन,’ मुख्यमन्त्री केसीले भने ।

 

पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका उपाध्यक्ष दीपक बोहराले प्रदेशको आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए । भैरहवास्थित भीम अस्पतालमा प्रतिष्ठानले एउटा भेन्टिलेटर उपलब्ध गराउन लागेको उनले जानकारी दिए ।


स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रतिष्ठानले अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको सुनाए । प्रतिष्ठानबाट प्राप्त सामग्री आवश्यकताअनुसार जिल्ला जिल्लामा पुग्ने बताए । योसँगै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले ७ वटै प्रदेशमा गरी साढे १० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।