close

कोरोनामुक्त बन्यो उदयपुरको कोभिड अस्पताल 

कोरोनामुक्त बन्यो उदयपुरको कोभिड अस्पताल 

Trulli
ADVERTISEMENT

 

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको जिल्लाकै एक मात्र कोरोना अस्पताल उदयपुर कोभिड अस्पताल आइतबारबाट कोरोना संक्रमितमुक्त बनेको छ ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित सातधारेमा रहेको कोरोना अस्पताल ६ महिनापछि कोरोनाका बिरामीमुक्त बनेको हो । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएसँगै पहिलो पटक गत ९ वैशाखमा पहिलो बिरामी त्रियुगा नगरपालिकाका संक्रमित कोरोना भर्ना हुन पुगेको उदयपुर कोभिड अस्पताल बेल्टार सातधारे कोरोना बिरामीरहित बन्न पुगेको हो ।


कोभिड अस्पतालबाट आइतबार ४ महिला र २ पुरुषसहित ६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै अस्पताल खाली भएको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै यस अवधिमा अस्पतालमा २८२ महिला र २४७ पुरुष गरी ५२९ जना भर्ना भएका थिए । 

 

यीमध्ये २६६ महिला र २१९ पुरुष गरी ४८५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको थियो भने १५ महिला र २७ पुरुष गरी ४२ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको थियो । 

 

कोभिड अस्पतालमा भर्ना भएका बिरामीमध्ये १ पुरुष र १ महिलाको उपचारका क्रममा अस्पतालमै ज्यान गएको चौदण्डीगढी नगरपालिका कोरोना फोकल पर्सन तेजबहादुर पोखरेलले जानकारी दिए ।

 

त्यसैगरी चौदण्डीगढी नगरपालिकाभित्र २ महिला र १ पुरुष गरी ३ जना मात्र होम आइसोलेसनमा रहेको नगरपालिकाले बताएको छ । थप कोरोना संक्रमित नभेटिएकाले चौदण्डीगढी नगरपालिका छिट्टै कोरोनामुक्त हुने नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए । चौदण्डीगढीले कोरोनामुक्त नगर बनाउन निकै परिश्रम गरेको स्थानीयले बताए ।

 

पहिलो भेरियन्टमा कोरोना नियन्त्रणका निम्ति उदयपुरका ८ वटै स्थानीय तहको संयुक्त लगानीमा उदयपुर कोभिड– १९ अस्पताल निर्माण गरिएको थियो । संयुक्त लगानीमा निर्माण गरिएको कोरोना अस्पतालले कोरोना उपचार तथा नियन्त्रणमा ठूलो भूमिका खेलेको छ ।

 

मुलुककै कोरोना इपिसेन्टर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के बनेपछि उदयपुर विकास बोर्डले कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो । बोर्ड अध्यक्ष बलदेव चौधरीको पहलमा उदयपुरका चार नगरपालिका र चार गाउँपालिकाले लगानी गरेर करिब ४ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरी अस्पताल सञ्चालनमा ल्याएका थिए ।

 

कोरोनाको तीव्र संक्रमणसँगै अस्पताल निर्माणपछि पहिलो भेरियन्टमा १ सय ४५ जनाले उपचार पाएको उदयपुर कोभिड–१९ अस्पताल सञ्चालक समिति अध्यक्ष तथा चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईले जानकारी दिए । 

 


कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा निरन्तर खटिने हुने स्वास्थ्यकर्मी, सामाजिक संघ–संस्था, राजनीतिक दल, कर्मचारी, वडाध्यक्ष, सञ्चारकर्मी सबैलाई नगर प्रमुख राईले धन्यवाद दिए ।