close

कोसी अस्पतालको पाँच तले नयाँ भवन शिलान्यास

कोसी अस्पतालको पाँच तले नयाँ भवन शिलान्यास

Trulli
ADVERTISEMENT

विराटनगर– विराटनगरस्थित कोसी अस्पतालमा नयाँ बन्ने सुविधासम्पन्न पाँचतले भवनको शिलान्यास गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोसी अस्पतालको नयाँ बन्ने भवनको बिहीबार शिलान्यास गरे । 

 

३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा अन्डरग्राउन्डसहितको पाँच तलाको सुविधासम्पन्न भवन बन्न लागेको हो ।  ४ कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउन्ड भवनको भुइँतलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । 

 

दोस्रो तलामा एचडियुसहितका डायलोसेसलगायत सेवा हुनेछन् । यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतीक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्या रहनेछन् । चौथो तलामा कार्डियो र न्युरो सेवा रहनेछ । चौथो तला ५० शय्याको हुनेछ ।  संघीय सरकारले पहिलो चरणको लागत अनुमान ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमध्ये ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा रमन भूमिले ठेक्का पाएको हो ।

 

पहिलो चरणमा पाँचतले भवन बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हँुदै जानेछ । गुरुयोजनाअनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौँ तलामा ५२ शय्याको जनरल वार्ड र छैटौँ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । 


हाल ३५० शय्याको अस्पताल रहेकामा सुविधासम्पन्न भवन बनेपछि ५ सय शय्या पुग्ने कोसी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिए । रमन भूमि बिआइपिएल निर्माण कम्पनी जेभी र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरबीच गत असारमा अस्पताल निर्माणको सम्झौता भएको थियो ।


सम्झौता भएको २ महिनापछि निर्माणको काम अगाडि बढाइएको थियो । समयमै साइट क्लियर नहुँदा भवन निर्माण सम्झौता भएको २ महिना ढिलो गरी काम सुरु भएको हो ।  निर्माण कम्पनीका कृष्ण बोहराले आयोजना, अस्पताल र सबैको साथ सहयोग पाए तोकिएको मितिभन्दा चाँडै निर्माण गरी हस्तान्तरण गरिने बताए ।


‘अस्पताल नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ठाउँ हो । गुणस्तरलाई ध्यान दिएर सम्झौता अगाडि निर्माण प्रक्रिया पूरा गरी हस्तान्तरण गर्ने लक्ष्य हो,’ उनले भने, ‘त्यसका लागि सबैको साथ, सहयोग आवश्यक छ ।’ भवन निर्माण सम्झौता २३ असार २०७८ मा गरिएकामा सम्पन्न अवधि २३ पुस २०८० तोकिएको छ ।