close

नगरभित्रका स्वास्थ्यकर्मीलाई क्षमता बढाउने तालिम दिँदै वालिङ

नगरभित्रका स्वास्थ्यकर्मीलाई क्षमता बढाउने तालिम दिँदै वालिङ

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ- स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई बृहत् पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिन सुरु गरेको छ । वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४ वटै वडामा रहेका अस्पताल, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तालिम सुरु गरिएको हो ।
 

तालिम आगामी ९ कात्तिकसम्म सञ्चालन हुनेछ । तालिम उद्घाटन गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले बालबालिकाको सुरुआती वर्षमा पोषणमा गरिने लगानीले उनीहरूसँगै तिनका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत हुनु्पर्ने आवश्यकता औँल्याइन् ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले एक सातासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाए । स्वास्थ्यकर्मीले प्रायः सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले पनि आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

 

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण दरिलो जग भएको बताउँदै राम्रो पोषण पाएका बालबालिका राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुनुका साथै रोग, विपत्ति तथा अन्य संकटसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको महत्त्व ठूलो रहेको विचार व्यक्त गरे ।