close

तिलोत्तमाको शंकरनगरमा खुल्यो आँखा उपचार केन्द्र 

तिलोत्तमाको शंकरनगरमा खुल्यो आँखा उपचार केन्द्र 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, रणअम्बिका शाह आँखा अस्पतालको व्यवस्थापन र तिलोत्तमा नगरपालिकाको सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।


आँखा उपचार केन्द्रको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । नगरप्रमुख घिमिरेले आँखा उपचार केन्द्र स्थापनाले यस क्षेत्रका आँखासम्बन्धी रोगका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले नेपाल नेत्र ज्योति संघ, रणअम्बिका शाह आँखा अस्पताललाई धन्यवाद दिए ।

 

नगरप्रमुख घिमिरेले तिलोत्तमामा स्थापना गरिएको आँखा उपचार केन्द्रलाई जिल्लाकै नमुना आँखा उपचार केन्द्र बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणाले अस्पतालको कार्ययोजनाअनुसार तिलोत्तमा नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको बताए ।


नेपाल नेत्र ज्योति संघ रूपन्देही शाखाका अध्यक्ष कमलराज जोशीले तिलोत्तमामा रहेका आँखा रोगका बिरामीलाई स्वास्थ्योपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दधिराम गौतम, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले आँखा उपचार केन्द्र स्थापना हुनु महत्त्वपूर्ण भएको बताए ।


कार्यक्रममा आँखा रोगसम्बन्धी जानकारी र यसबाट बच्ने उपायबारे अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्राडा. ज्ञानेन्द्र लामिछानेले प्रकाश पारे । केन्द्र स्थापना अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा २५० जना आँखा रोगीको परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये १८ जना मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि रणअम्बिका शाह आँखा अस्पताल रिफर गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले जानकारी दिए । 


अस्पतालको व्यवस्थापनमा हाल सियारी, सम्मरीमाई, रोहिणी गाउँपालिका, सैनामैना, लुम्बिनी र तिलोत्तमा नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राणाले बताए ।