close

तनहुँका दुई पालिकामा कोरोना संक्रमण दर शून्य

तनहुँका दुई पालिकामा कोरोना संक्रमण दर शून्य

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको संक्रमणदर शून्य रहेको हो । तनहुँमा हाल २८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

 

व्यासनगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिकामा आठ, भिमाद नगरपालिकमा तीन, भानु नगरपालिकमा तीन, ऋषिङ गाउँपालिकामा दुई, घिरिङ र बन्दीपुरमा एक÷एकजना कोरोना सङ्क्रमित रहेका छन् । आठ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । 

 

तनहुँमा ८५ हजार ८०० लाई पहिलो खोप र ६४ हजार ९८० ले दोस्रो खोप लगाएका छन् । वैशाखदेखि हालसम्म १२४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण घट्दै गए पनि सुरक्षामापदण्ड अपनाएर मात्रै पेशा व्यवसाय र हिँड्डुल गर्न स्वास्थ्य कार्यालयले सर्वसाधारणमा आग्रह गरेको छ ।

 

६७ हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि 

 

त्यसैगरी स्वास्थ्य कार्यालय तनहुँले जिल्लाभर ६७ हजार दुई बालबालिकालाई  ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइने लक्ष्य रहेको जनाएको छ । त्यस्तै ६ महिना माथिका पाँच वर्ष मुनिका ३६ हजार २०० जनालाई भिटामिन ए खुवाइनेछ । त्यसैगरी एक वर्षमाथि पाँच वर्ष मुनिका ३१ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए । 

 

कात्तिक ७ गते टोल–टोलमा खोप केन्द्र राखेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइए पनि छुट भएकालाई कात्तिक ८ गते घरघरमा गएर खुवाइने उहाँले बताउनुभयो । जिल्लामा चार सय ६६ जना महिला स्वास्थ्य स्वयसेविका रहेका   छन् । 


    

दमौली अस्पताललाई बाह्ररोपनी जग्गा दिलाउन पहल

 

व्यासनगरपालिकाले दमौली अस्पताललाई नपुग करिब बाह्र रोपनी जग्गा उपलव्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाको नियमित बैठक नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 

 

अस्पताललाई नपुग जग्गा कृषि विकास कार्यालय र पशु विकास कार्यालय, तनहुँबाट उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

 

पचास श्यया क्षमताको अस्पताल बनाउनको लागि उक्त बाह्र रोपनी अपुग देखिएपछि पहलकदमी थालिएको उनले बताए । दमौली अस्पतालमा १५ श्ययाको लागि स्वीकृति भए पनि ४२ श्यया चलाउदै आएको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिए । पचास श्यया (सेकेन्डरी लेभल) को अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यक पर्ने भएपनि अस्पतालको लालपुर्जा चार रोपनी र चर्चिदै आएको सार्वजनिक जग्गा समेत गरी १५ रोपनी १४ आना रहेको उनले बताए । 

 

त्यसैगरी उक्त बैठकले गत असोज २२ गते भएको कार्यपालिका बैठकका निर्णयको समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी रहेका विषयमा सम्बन्धित शाखालाई कार्यान्वयन प्रकिया अघि बढाउन निर्देशन दिइएको छ । नगरपालिकाको मूलभवनमा तला थप, व्यास नगर कोभिड अस्पताल लगायतका योजनाको बोलपत्र प्रक्रियाको प्रतिवेदन एवं अन्य काम सम्पन्न नभएका स्वीकृत योजना र अब बोलपत्र गर्नुपर्ने कार्यको समीक्षा गरेको छ । 

 

साथै बैठकले योजनाकार्यलाई छिटो सम्पन्न गर्न पूर्वाधार विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ । ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर २०७८ कात्तिक ११, १२ र १३ गते दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयमा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । दमौली वरपर पराशर आश्रम क्षेत्र, अनशन चौतारी– सेन्ट्रल पार्क, बिपी वन वाटीका खेलमैदानमा सहरी हरियाली परियोजना प्रस्तावको लागि सङ्घीय वन तथा वातावरण मन्त्रालय सिंहदरबारमा पेश गर्ने निर्णय भएको छ ।