close

स्वास्थ्य सेवा विभागद्वारा पोषण तालिम अनुगमन

स्वास्थ्य सेवा विभागद्वारा पोषण तालिम अनुगमन

Trulli
ADVERTISEMENT

गुल्मी– स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदार पराजुलीले पोषण तालिम अनुगमन गरेका छन् । गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ३ कात्तिकदेखि स्वास्थ्यकर्मीका लागि बृहत् पोषण प्याकेजसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको सोमबार पराजुलीले अनुगमन गरेका हुन् ।


अनुगमनका क्रममा गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाले लागू गरेका कस्तो छ आमा, तौल अनुगमन दिवस, स्वास्थ्य आमा समूहको बैठकमा स्वास्थ्यकर्मीको अनिवार्य उपस्थिति र तालिम सञ्चालनको मोडलले प्रभावित भएको र अन्यत्र पनि सिको गर्ने खाले भएको बताए ।


कार्यक्रमका प्रशिक्षक एवं गुल्मीदरबार गाउँपालिका स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले पालिकाले स्वास्थ्यसम्बन्धी गरेका कार्यक्रमबारे प्रकाश पार्दै जिरो होम डेलिभरी बनाउन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम लागू गर्न र स्वास्थ्य आमा समूहको नियमित बैठक सञ्चालन खर्च व्यवस्थापन गर्न विभागसँग आग्रह गरे ।
कार्यक्रममा पराजुलीले अल्ट्रासाउन्ड र यसका लागि आवश्यक उपकरण व्यवस्थापन स्थानीय तहले गरे अल्ट्रासाउन्डका लागि तालिम व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।


पालिकाका कार्यवाहक अध्यक्ष मीना भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागको परिवार कल्याण महाशाखा पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डे, सुआहारा केन्द्रीय कार्यालयका भीमकुमारी पुन, स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्य, सुआहारा गुल्मीका प्रमुख लीलबहादुर नेपाली, एकिकृत ग्रामीण विकास समाजका सुआहारा फोकल पर्सन राजेन्द्र विश्वकर्मालगायत उपस्थित थिए ।


विभागको टोलीले ७ र ८ कात्तिकमा सञ्चालन भएको राष्ट्रिय भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रमको अनुगमन छत्रकोट गाउँपालिकाको पल्लीकोट स्वास्थ्य चौकी र रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित पोषणसम्बन्धी बृहत् पोषणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम अनुगमन गरेको थियो ।


स्वास्थ्यकर्मीका लागि पोषण प्याकेज तालिम सम्पन्न भएसँगै सबै स्वास्थ्य संस्थामा पोषणसम्बन्धी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि तालिम सञ्चालन गर्नेछन् ।


सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले यो तालिम पाइसकेपछि स्वास्थ्य आमा समूहमा पोषण शिक्षा प्रवाह गरेर कुपोषित बालबालिकाको खोजी गर्नुका साथै घरघरमा व्यवहार परिवर्तन गराउन सचेतना फैलाउनेछन् ।


यो तालिम गाउँपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीलाई दिइने कार्यक्रम रहेको स्वास्थ्य अधिकृत अर्यालले बताए । २ चरणमा सञ्चालन गरिने तालिमको पहिलो चरण ३ देखि ९ कात्तिकसम्म र दोस्रो चरण २३ देखि २९ कात्तिकसम्म चल्ने स्वास्थ्य शाखाले बताएको छ ।