close

लिमचुङबुङका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर

लिमचुङबुङका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको लिमचुङबुङ गाउँपालिकाले सबै वडामा निःशुल्क शिविर सञ्चालन गरेको छ । पालिकाले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा महिलामा लाग्ने विभिन्न रोगको स्क्रिनिङ गरिनेछ । बिहीबार वडा नम्बर ४ बलम्ता स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

 

महिलालाई पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले आयोजित शिविर गाउँपालिकाका ५ वटै वडामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बूले जानकारी दिए । महिलाको पाठेघरको सुरक्षा गर्न पालिकाले गाउँ–गाउँमा घुम्ती शिविर सञ्चालन गरिरहेको उनले बताए ।


शनिबारसम्म चल्ने शिविर गाउँपालिका महिला विकास शाखाको आयोजनामा भएको हो । शिविरको सुरुआत गाउँपालिकाको केन्द्र बाराहास्थित ३ नम्बर वडामा मंगलबार र बुधबार ५ नम्बर वडा जाँतेमा सम्पन्न भइसकेको छ । 


सहायक महिला विकास निरीक्षक सुनिता लिम्बूका अनुसार बिहीबार वडा नम्बर ४ बलम्ता, शुक्रबार वडा नम्बर २ ताम्लिछा स्वास्थ्य चौकी र अन्तिम दिन शनिबार १ नम्बर बाँसबोटे स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ । 


जिल्ला अस्पताल गाईघाटको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । जिल्ला अस्पतालकी प्रसूति प्रमुख छवित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा उपचार गरिरहेको छ ।


टोलीमा ओरेक नेपाल र लिमचुङबुङ गाउँ अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मी पनि संलग्न छन् । शिविरमा महिलाको स्वास्थ्य परीक्षण तथा परामर्श र उपचार गर्ने काम भइरहेको स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए । 


वराहा स्वास्थ्य चौकी शिविरमा ३८ जना महिलाले परीक्षण गरेकामा आधा दर्जनको अवस्था जटिल पाइएको छ । जाँतेमा सम्पन्न शिविरमा ५३ जना महिलाले परीक्षण गराएकामा ६ जनाको अवस्था जटिल पाइएको राईले बताए । 

 

यौन रोग भएका महिलाले लाजका कारण समयमै परीक्षण नगर्दा क्यान्सरजस्तो प्राणघातक रोगमा परिणत हुने भएकाले शिविर आयोजना गरिएको पालिकाका सूचना अधिकारी तथा लेखा अधिकृत ताराकिरण राईले बताए ।  शिविरमा पत्ता लागेका जटिल खाले बिरामी महिलालाई पहिलो चरणको उपचारस्वरूप ‘रिङ प्रेसरी’ लगाउने काम गरिने उनले जानकारी दिए । क्यान्सर लाग्न लागेको पत्ता लागेका बिरामीको शल्यक्रिया गर्न सुविधासम्पन्न अस्पतालमा पठाइने गाउँपालिकाले जनाएको छ ।