close

तिलोत्तमाको वडा नम्बर ८ ले बनायो आफ्नै स्वास्थ्य चौकी भवन

तिलोत्तमाको वडा नम्बर ८ ले बनायो आफ्नै स्वास्थ्य चौकी भवन

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा रहेको करहिया स्वास्थ्य चौकीले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको छ । स्थापनाको झन्डै २६ वर्षपछि; ज्योतिनगरमा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरिएको हो । आफ्नै भवन निर्माण भएसँगै सेवा सहज बन्ने स्वास्थ्यकर्मीले बताए ।


यसअघि स्वास्थ्य चौकीविभिन्न संघ–संस्थाका भवनमा सञ्चालन गरिएकामा जग्गा स्वामित्व प्राप्त भएपछि आफ्नै भवन निर्माण गरिएको हो । स्थानीयले लामो समयदेखि संरक्षण गर्दै आएको झन्डै ६ कठ्ठा जग्गा स्वास्थ्य चौकीका नाममा कायम भएपछि २३ भदौ २०७७ मा भवन शिलान्यास गरिएको थियो ।


स्वास्थ्य चौकी शिलान्यास गरेका तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले नै भवनको संयुक्त रूपमा उद्घाटन गरे । ९ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत स्वास्थ्य चौकीले खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षय–कुष्ठ, विद्यालय तथा किशोरकिशोरी शिक्षा, बिरामी परीक्षण, औषधी वितरण, प्रयोगशाला आदि सेवा उपलब्ध गराउँदै आएको छ ।

 

स्वास्थ्य चौकीले वडा नम्बर ८ का अतिरिक्त वडा नम्बर ७, ९, ११ का बासिन्दालाई सेवा दिँदै आएको छ । भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख घिमिरेले आधारभूत स्वास्थ्य सेवा नगरका सबै वडामा पु¥याइएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट दिइने सेवा प्रभावकारी बन्दै गएकाले त्यसबाट लाभ लिन नगरबासीलाई आग्रह गरे ।

 

स्वास्थ्यकर्मीले बिरामीको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने र सकेसम्म रोग लाग्नै नदिन सबै सचेत हुनुपर्ने उनको धारणा छ । नगर प्रमुख घिमिरेले नवनिर्मित स्वास्थ्य चौकी भवनबाट प्रवाह हुने सेवा नागरिकमैत्री भएको दाबी गरे ।

 

विगतमा सरकारी स्वास्थ्य क्षेत्रमा केही बेथिति भए पनि जनप्रतिनिधि आएपछि उल्लेख्य सुधार भएको दाबी गरे । नगर उपप्रमुख चौधरीले स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै यसमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष कृष्ण पौडेललगायतले बोलेका थिए । यस्तै, भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले करहिया स्वास्थ्य चौकीलाई इमर्जेन्सी रिलिफ बेड सहयोग गरेको छ ।


प्रतिष्ठानले स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा २ थान बेड हस्तान्तरण गरेको हो । प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले नगर प्रमुख घिमिरे, उपप्रमुख चौधरी र वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पौडेललाई उक्त बेड हस्तान्तरण गरे ।