close

गुल्मीका ७ स्थानीय तहका २३ सयमा एचआईभी परीक्षण : पोजेटिभको संख्या शून्य

गुल्मीका ७ स्थानीय तहका २३ सयमा एचआईभी परीक्षण : पोजेटिभको संख्या शून्य

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशको गुल्मीमा २ हजार २ सय २९ जनामा एचआईभी परीक्षण गरिएकामा पोजेटिभको संख्या शून्य रहेको छ । राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) गुल्मीले जिल्लाका ७ स्थानीय तहमा गरेको परीक्षणमा पोजेटिभको संख्या शून्य रहेको पाइएको हो ।


संस्थाले जिल्लास्थित सरोकारवालासँग समन्वय गरेर सोही विषयमा जानकारी दिएको थियो । समन्वय तथा समीक्षाका लागि जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा संस्थाको समन्वयमा सरोकारवालासँग छलफल गरिएको संस्थाका उपाध्यक्ष गुणानिधि शर्माले जानकारी दिए ।


सन् २००९ बाट स्वास्थ्य क्षेत्रतर्फ एचआईभी र क्षयरोग (टिबी) रोगको रोकथामका लागि ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगले ग्रामीण क्षेत्र पुगेर काम गरिरहेको संस्थाले सन् २०२१ को हालसम्म गरेको कामबारे जानकारी दिइएको थियो ।


ग्रामीण भेगमै पुगेर काम गरिँदै आएको भए पनि यो वर्ष कोरोना महामारी रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण केही समय कार्यक्रम ठप्प भएकाले लक्ष्यअनुसार काम गर्न नसकिएको कार्यक्रम संयोजक ढालबहादुर पछाईले जानकारी दिए ।


संस्थाले समूहगत र व्यक्तिगत रूपमा ४ हजार ३ सय ३२ जनालाई भेटेको छ । जिल्लाका ७ वटा स्थानीय तहमा संस्थाले काम गरिरहेको छ । रेसुंगा नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकासहित ७ स्थानीय तहमा ७ जना फिल्ड कार्यकर्ताले काम गरिरहेको पछाईले बताए ।


संस्थाले यो वर्षको हालसम्म ७ पालिकाका २ हजार २ सय २९ जनामा एचआईभी परीक्षण गरेकामध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला रहेको कार्यक्रम संयोजक पछाईको भनाइ छ ।

 

रोजगारीका लागि भारत गएका श्रीमतीका श्रीमान्लाई लक्षित गरी यो कार्यक्रम सञ्चालन भएको पछाईले जानकारी दिए । संस्थाले जिल्लामा क्षयरोग कार्यक्रम पनि सँगसँगै अगाडि बढाएको छ । सन् २०२१ को अहिलेसम्म ४ हजार ३ सय ३२ जनालाई भेटेर लक्षणबारे अध्ययन गरेर शंकास्पदलाई अस्पताल रेफर गरिएको छ । 

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले चाडपर्वका बेला प्रवासी नेपालीलाई घरमा भेट्न सकिने भएकाले सोही समयलाई सदुपयोग गर्न आग्रह गरे । जुनसुकै कार्यक्रम पछि परेका समूहबाट सुरु गरेर तिनलाई लाभ दिन सक्नुपर्ने उनको धारणा छ ।


जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख जनस्वास्थ्य अधिकृत पशुपति आचार्य सहभागी कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रेशम कुँवरले गुल्मी र पाल्पा गरी दुई जिल्लामा एचआईभी र क्षयरोगको रोकथामका लागि कार्यक्रम सञ्चालन गरिरहेको बताए ।


कार्यक्रममा प्रजिअ पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, जिल्ला समन्वय अधिकारी विजयकुमार कार्की, गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्या, रेसुंगा नगरका सामाजिक विकास समिति संयोजक थम्मनबहादुर केसी, उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष रामप्रसाद पन्थी, पत्रकार महासंघ गुल्मीकाअध्यक्ष टोपलाल अर्याललगायत उपस्थित थिए ।