close

तिलोत्तमामा १८ वर्ष पुगेकालाई लगाइँदै कोरोनाविरुद्धको खोप

तिलोत्तमामा १८ वर्ष पुगेकालाई लगाइँदै कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथिका सबै नागरिकलाई सोमबार र मंगलबार कोरोनाविरुद्धको खोप लगाइँदै छ । यसअघि कोरोनाविरुद्धको खोप नलगाएका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

 

खोपको सहज व्यवस्थापनका लागि नगरपालिकाका १७ वटा वडामै खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय रूपन्देहीको परिपत्रअनुसार सोमबार र मंगलबार कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने व्यवस्था मिलाइएको हो । 

 

तिलोत्तमामा १८ वर्षमाथिका कोरोनाविरुद्धको पहिलो खोप नलगाएका झन्डै २७ हजार रहेको अनुमान छ । नगरमा झन्डै ४८ हजार जनाले यसअघि नै कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य शाखाको तथ्यांक छ । 

 

यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका नगरबासीको तोकिएको समयसीमा पूरा भएको अवस्थामा सोमबार र मंगलबार खोप लगाउन सकिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

 

हरेक वडा कार्यालय र स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रमा रहेका नागरिक खोपबाट नछुटून् भनेर आ–आफ्नो तरिकाले सूचना प्रकाशन, माइकिङ, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविकामार्फत प्रचार–प्रसार गरेका छन् । 

 

नगरप्रमुख वासुदेव घिमिरेले कोरोनाविरुद्धको खोपबाट १८ वर्षमाथिका कुनै पनि नगरबासी नछुटून् भनेर सूचना प्रवाह टोलस्तरमा  पुर्‍याइएको बताए । आफूलाई पायक पर्ने खोप केन्द्र पुगेर खोप लगाउन उनले सबै नगरबासीलाई आग्रह गरे ।