close

लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर बन्दै 

लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर बन्दै 

Trulli
ADVERTISEMENT

रूपन्देही–रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चार प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत वर्ष २०२१–२२ का लागि चार वटा परियोजनाको काम अगाडि बढाइएको हो ।


यी परियोजनाअन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टरसहित ब्लड कलेक्सन मोबाइल भ्यानसम्म छन् । रोटरी क्लब अफ बुटवलको २९औँ चार्टड नाइट कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । 


रोटरी क्लब अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ एन्ड डायग्नोस्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोबाइल भ्यान, बुटवल उपमहानगरभित्र ट्राफिक लाइट जडान र खानेपानी व्यवस्थापन गरी चार वटा परियोजना अघि बढेको अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले बताए ।


लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रूपमा रहेको क्लबले जनाएको छ । ‘यो करिब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो । सुरुमा यसका लागि साढे २ करोड लगानी हुँदै छ’, उनले भने । 


क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेषगरी महिलालाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्था अन्त्य हुने उनले बताए । त्यसैगरी ब्लड कलेक्सन मोबाइल भ्यान खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय टाटा कम्पनीसँग करिब ६५ लाखको लागतमा भ्यान खरिद प्रक्रिया अघि बढेको र अब छिटै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।


मोबाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै ब्लड कलेक्सन गरेर निश्चित तापक्रममा राख्न सकिने सुविधा हुनेछ । त्यसैगरी बुटवल उपमहानगरभित्र रोटरीले ट्राफिक लाइट जडान प्रक्रिया पनि सुरु गर्दै छ । करिब ४५ लाख रुपैयाँमा बुटवल उपमहानगरसँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले १५ लाख रुपैयाँ लगानी गर्ने उपाध्यायले बताए । 


यसका अतिरिक्त गरिब तथा विपन्न नागरिकको बस्ती पहिचान गरी खानेपानी परियोजनाको काम अगाडि बढाउने रोटरीको तयारी छ ।पत्रकार सम्मेलनमा रोटरी क्लव अफ बुटवलका निवर्तमान अध्यक्ष सुनील श्रेष्ठ, सचिव खिमनाराण पराजुलीलगायतले विभिन्न विषयमा प्रकाश पारेका थिए ।

 

विभिन्न सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको रोटरी क्लव अफ बुटवलले विगतमा विद्यालयमा आर्थिक सहयोगदेखि लिएर स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, खेलकुदलगायत विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ ।