close

कोरोनामुक्त भए सिन्धुलीका ६ वटा पालिका 

कोरोनामुक्त भए सिन्धुलीका ६ वटा पालिका 

Trulli
ADVERTISEMENT

सिन्धुली–सिन्धुलीका ९ मध्ये ६ वटा पालिकामा कोरोना संक्रमण शून्यमा झरेको छ । तीनपाटन गाउँपालिका, फिक्कल, गोलन्जोर, घ्याङ्लेख, मरिण र हरिहरपुरगढीमा कोरोना संक्रमण शून्यमा झरेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

 

कार्यालयका अनुसार हाल कमलमाई नगरपालिकामा ३२, दुधौली नगरपालिकामा ८ र सुनकोसी गाउँपालिकामा ३ जना कोरोना संक्रमित छन् । उनीहरूको होम आइसोलेसनमा उपचार भइरहेको छ ।

 

सिन्धुलीमा दोस्रो लहरमा कोरोनाबाट ३ हजार २५१ संक्रमित भएका छन् । तीमध्ये ४५ जनाको मृत्यु भएको छ भने ३ हजार १६३ जना निको भएको कार्यालयले बताएको छ ।

 

कार्यालयका कोभिड–१९ फोकल पर्सन सन्तोष माझीका अनुसार फिक्कल गाउँपालिकामा ३५३ जनामा कोरोना संक्रमण भएको थियो । तीमध्ये ५ जनाको मृत्यु भएको र बाँकी ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

त्यस्तै, सुनकोसी गाउँपालिकामा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३ जना हाल होम आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

 

घ्याङ्लेख गाउँपालिकामा पनि २०७ जनामा कोरोना संक्रमण पुष्टि भएकामा सबै कोरोनालाई जितेर संक्रमणमुक्त भइसकेका छन् । हरिहरपुरगढी गाउँपालिकामा हालसम्म ३३ जनामा कोरोना संक्रमण पुष्टि भएकामा दुई जनाको ज्यान गएको छ ।बाँकी सबै जनाले कोरोना जितेर संक्रमण मुक्त भइसकेका छन् ।

 

कमलामाई नगरपालिकामा ९१० जनामा संक्रमण पुष्टि भएकामा ८५८ जना संक्रमणमुक्त भएका छन् । अहिले ३२ जना होम आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

 

दुधौली नगरपालिकामा ५०१ जनामा संक्रमण पुष्टि भएकामा ४८५ जना संक्रमणमुक्त भएका छन् । अहिले ८ जना होम आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् भने ८ जनाले ज्यान गुमाएको फोकल पर्सन माझीले जानकारी दिए ।

 

तीनपाटन गाउँपालिकामा २२४ जनामा संक्रमण पुष्टि भएकोमा ३ जनाले ज्यान गुमाएका छन् भने बाँकी संक्रमणमुक्त भइसकेका छन् । गोलन्जोर गाउँपालिकामा ३०४ जनामा संक्रमण पुष्टि भएकामा २ जनाले ज्यान गुमाएका छन् भने बाँकी संक्रमणमुक्त भइसकेका छन् । 

 

त्यसैगरी मरिण गाउँपालिकामा ४६६ जनामा संक्रमण पुष्टि भएकामा ४६१ जना संक्रमणमुक्त भइसकेका छन् । मरिणमा ५ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार सिन्धुलीमा ८३ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका ८३ हजार ३२२ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको संख्या ३९ हजार ७१८ छ ।