close

कपिलवस्तुमा झाडापखाला नियन्त्रणबाहिरै

कपिलवस्तुमा झाडापखाला नियन्त्रणबाहिरै

Trulli
ADVERTISEMENT

कपिलवस्तु–चन्द्रौटा– कोरोना महामारी क्रमशः नियन्त्रण हुँदै गएका बेला कपिलवस्तुमा पुनः अर्का महामारीको रूपमा झाडापखालाका देखा परेको छ । गत १८ असोजबाट सुरु भएको झाडापखला नियन्त्रणमा आउन नसकेको हो ।

 

कृष्णनगर नगरपालिका वडा नम्बर ९ बाट सुरु भएको झाडापखालाले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकलाई समेत लपेटेपछि अस्पतालमा भर्ना भएका थिए । प्रयोगशाला परीक्षण गर्दा स्थानीयमा हैजा भएको प्रमाणित भएको थियो । 


जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा १३ सय ३२, बैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएका थिए । 

 

अहिले पनि दैनिक १० जना बढी उपचाररत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीले बताए । हालसम्म जिल्लामा ६ जनाको झाडापखालाकै कारण ज्यान गएको छ । 

 

अस्पतालमा अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकमा छ । ‘केही दिन कम भएको थियो । पछिल्लो समय पुनः दैनिक ८/१० जना बिरामी आउने गरेका छन्’, शिवराज अस्पतालका डा. मुकेश चौधरीले भने, ‘अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । पहिलाको तुलनामा केही कम भएको छ ।’ 


गाउँमा बान्ता र पखालाका बिरामी अहिले बढिरहेको डा. चौधरीले जानकारी दिए । शिवराज नगरपालिका वडा नम्बर ७ र ८ का गाउँमा झाडापखाला देखापरे पनि नियन्त्रणमा आइसकेको शिवराज नगरका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए ।

 

‘सुरुका केही दिनमा धेरै जनामा बान्ता र पखालाको समस्या हुँदा नागरिक आत्तिएका थिए । विस्तारै कम हुँदै गयो’, भट्टराईले भने । स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपका लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । साढे २ लाख खोप विश्व स्वास्थ्य संगठनले दिने निर्णय भइसकेकाले आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले जानकारी दिए ।


पहिलो चरणमा ५ वटा स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पिउने, हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिए मात्र झाडापखाला नियन्त्रण हुने स्वास्थ्यकर्मीको सुझाव छ ।