close

तिलोत्तमा मनाइयो मधुमेह दिवस 

तिलोत्तमा मनाइयो मधुमेह दिवस 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा विश्व मधुमेह दिवस मनाइएको छ । नेपालमा १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइने गरिन्छ । ‘मधुमेहको हेरचाहमा सबैको पहुँच, अहिले नभए कहिले’ नारासहित यो वर्षको विश्व मधुमेह दिवस मनाइएको हो ।


विश्व मधुमेह दिवस अवसरमा तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले मधुमेहबारे नगरबासीका घर–घरमा पुगेर चेतना फैलाउनुपर्ने बताए । मधुमेह लाग्नै नदिन सतर्कता अपनाउन सकिने हुँदा यसको मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै रहेको उनको दाबी छ । ‘काम नगर्ने, शारीरिक व्यायाम नगर्ने गरेका कारण धेरैलाई मधुमेहले च्यापेको छ । त्यसका लागि स्वस्थ जीवनशैली अपनाउनुपर्छ’, नगरप्रमुख घिमिरेले भने ।

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले डायबिटिज मानिस आफैंले निम्त्याएको रोग भएको बताए । सहरीकरणसँगै बदलिएकोअस्वस्थकर जीवनशैलीका कारण डायबिटिजको जोखिम बढ्दै गएको उनको भनाइ छ । नेपालमा सर्नेभन्दा नसर्ने रोगबाट मृत्युदर बढिरहेको उनले तथ्यांक प्रस्तुत गरे । डा. गिरीले भने, ‘७१ प्रतिशत मानिसको नेपालमा नसर्ने रोगबाट मृत्यु भएको तथ्यांक छ ।’


स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य निरीक्षक वसन्त श्रेष्ठले डायबिटिज व्यक्तिको अव्यवस्थित जीवनशैलीका कारण हुने भएकाले सबैभन्दा पहिले जीवनशैली सुधार्नुपर्ने बताए । तिलोत्तमाका स्वास्थ्य संयोजक मोती पौडेलले नेपालमा ८ प्रतिशत जनसंख्या मधुमेहबाट ग्रसित रहेको जानकारी दिए । सबैमा चेतना फैलाएर खानपिनमा ध्यान दिनु र दैनिक व्यायाम गर्न उनले सुझाव दिए ।


आनन्दवन हेल्थपोस्टका मेडिकल अधिकृत डा. गोविन्द भण्डारीले खानपान र निस्क्रिय जीवनशैलीका कारण मधुमेह हुने भएकाले सचेत बन्नुपर्ने बताए । नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको सहभागिता रहेको कार्यक्रम सञ्चालन जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले गरेका थिए ।


कार्यक्रममा रगत परीक्षण, पिसाब जाँचका साथै विभिन्न सन्देशमूलक पर्चा वितरण गरिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह रहेका र करिब ४० वर्षपछि यो संख्या ४५ करोड बढी पुगेको छ । नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको छ ।