close

शिलान्यासमै सीमित भए स्वास्थ्यचौकीका भवन

शिलान्यासमै सीमित भए स्वास्थ्यचौकीका भवन

Trulli
ADVERTISEMENT

रोल्पा– जिल्लाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्यचौकी भवन शिलान्यास भएको एक वर्ष पूरा हुँदासमेत निर्माण अगाडि बढ्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षको मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहको स्वास्थ्यचौकी भवन एकैपटक शिलान्याश गर्ने कार्यक्रम अन्तर्गत र जिल्लाका ती स्वास्थ्यचौकीको पनि शिलान्याश गरिएको थियो ।

 

सरकारले पाँच, १० र १५ शय्याको स्वास्थय सुविधा दिने जनाउँदै ती स्वास्थ्यचौकी भवन शिलान्यास एकैपटक गरेको थियो । यहाँका थवाङ, परिवर्तन, माडी र त्रिवेणी गाउँपालिकामा स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको थियो । शिलान्याश गरिएका ती भवनमध्ये अधिकांश भुइँ खोस्रनेबाहेक थप काम भएका छैनन् ।

 

थवाङ गाउँपालिकामा भवन निर्माणका लागि सम्झौता भइसकेको र घडेरी सम्याउने जगको पिलर उठाउने काम भइरहेकोे गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले जानकारी दिनुभयो । ’कामको सुस्तता हेर्दा निर्माण कहिले सकिने हो भन्न सकिने अवस्था छैन’, उनले भने ।

 

परिवर्तन गाउँपालिकामा भने करिब सात प्रतिशत काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ । घडेरी सम्याउने काम अन्तिम चरणमा भएको जनाउँदै थप काम अघि बढ्ने बताए । सम्झौतापश्चात बोलपत्र प्रक्रियामा अघि बढेको उनले जानकारी दिए । 

 

माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनका अनुसार जग्गाको विषयमा केही समय विवाद भएकाले निर्माण अवरुद्ध भए पनि विवाद समाधानसँगै घडेरी सम्याउने काम सकिएको बताए । निर्माणको जिम्मा लिएको कम्पनीले सडक कालोपत्रका काम गरिरहेको र त्यो काम सकिनेबित्तिकै स्वास्थ्यचौकी भवन निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिए ।

 

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले आफ्नो गाउँपालिकामा पाँच प्रतिशतमात्र काम भएको जानकारी दिए । उनले निर्माणको जिम्मा लिएको कम्पनी तिहार मनाउन घर गएको र अहिलेसम्म नआएको र  बारम्बार फोन गरेर बोलाउँदासमेत रकम थप भएपछि मात्र काम सुरु गर्ने शर्त राखेको बताए ।

 

संघीय सरकारको करिब रु १८ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण हुने भनिए पनि करिब रु १३ करोडको मात्रै बोलपत्र भएका स्थानीय तहका प्रमुखहरूको भनाइ छ । मन्त्रालयले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन सो कार्यक्रम अघि सारे पनि भवन निर्माणकै काम अलपत्र परेको छ । ती स्वास्थ्यचौकी भवन सम्झौता भएको मितिले करिब दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।