close

घोराहीले मनायो महिला स्वास्थ्य स्वयंसेविका दिवस

घोराहीले मनायो महिला स्वास्थ्य स्वयंसेविका दिवस

Trulli
ADVERTISEMENT

दाङ– दाङको घोराही उपमहानगरले १८औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।  कार्यक्रममा नगरप्रमुख नरुलाल चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार गम्भीर रहेको बताए ।


कोरोना महामारी उत्कर्षमा रहेका बेला जिउज्यानको परवाह नगरी नागरिकको सेवामा निःस्वार्थभावले खटिएका सबै महिला स्वास्थ्य स्वयंसेविकाको कार्य नमुनायोग्य रहेको भन्दै उनले प्रशंसा गरे । ‘स्वस्थ जीवनशैली हाम्रो आवश्यकता, संकट न्यूनीकरणमा महिला स्वास्थ्य स्वयंसेविका’ नारासहित घोराहीमा दिवस मनाइएको हो । महिला स्वास्थ्य स्वयंसेविकाको कामले नै उपमहानगरले स्वास्थ्य क्षेत्रमा उपलब्धि हासिल गरेको चौधरीले बताए । 


‘कोरोनाको समय नगरबासीको सेवामा खटिँदा होस् वा महिला, बालबालिकाको नियमित खोप अभियान, गर्भ परीक्षण, सचेतनाका कार्यक्रममा उत्साहका साथ गरिएको कामले नगरबासीको स्वास्थ्य सुरक्षामा सफलता हासिल भएको छ’, उपमहानगर प्रमुख चौधरीले भने ।


 
नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटिएका महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क बिमा गर्न आउँदो नगरसभामा ड्राफ्ट पेस गरिने चौधरीको भनाइ छ ।


महिला स्वास्थ्य स्वयंसेविका पालिका अध्यक्ष बिना खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले विपद्का बेला निःस्वार्थभावले महिला स्वास्थ्य स्वयंसेविकाबाट भएको कामले उपमहानगरलाई थप संकट हुनबाट जोगाउन सकिएको बताए ।

 

स्वयंसेवाभावलाई थप विस्तार गर्न र स्तरीय स्वास्थ्य सेवाका लागि पटक– पटक अभिमुखीकरण गर्ने, हौसला बढाउन तालिम गोष्ठी आयोजना गर्ने, महिला, बालबालिकालाई महामारीजन्य रोग नियन्त्रण गर्न सचेतना प्रदान गर्नेलगायत कार्यक्रम भइरहेको उनले जानकारी दिए ।


कार्यक्रममा वडा नम्बर १४ का वडाध्यक्ष शक्तिराम डाँगीले विपदका बेलामा महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका जति प्रशंसा गरे पनि कम हुने बताए । 
आगामी दिनमा पनि यस्तै प्रकारको भूमिकाको अपेक्षा नगरले राखेको उनको भनाइ छ ।


अधिकारकर्मी हुमा डिसीले महिला स्वास्थ्य स्वयंसेविका अवकाशमा जाँदा राज्यले सम्बोधन गर्नुपर्ने बताइन् । जीवनको ऊर्जावान समय खर्चेर नागरिकको सेवामा खटिएकाले अवकाशपछि कम्तीमा केही राहत व्यवस्था हुनुपर्नेमा उनले जोड दिइन् ।


कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका कार्यसमिति जिल्ला अध्यक्ष विष्णु भण्डारी, परिवार नियोजन प्रमुख खिमेन्द्र शाक्य, उपमहानगरको बिमा शाखाका गोपीलाल वली, कोषाध्यक्ष शान्ता केसीलगायतले बोलेका थिए । 

 

नगरपालिका स्वास्थ्य स्वयंसेविका, पालिका कार्यसमिति र स्वास्थ्य प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा पालिकाभरका सबै महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य क्षेत्रमा प्रतिनिधि, वडाका वडाध्यक्षलगायत उपस्थित थिए ।


पालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेविका कार्यसमिति उपाध्यक्ष माया चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवा खनालले गरेकी थिइन् । 

 

१९ महिला स्वास्थ्य स्वयंसेविकासहित ५ आमा समूह सम्मानित


१८औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा घोराही उपमहानगरले पालिकाभरका महिला स्वास्थ्य स्वयंसेविकालाई हौसला प्रदान गर्न हरेक वडाबाट एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र उत्कृष्ट आमा समूहलाई विशेष सम्मान गरेको छ । पालिकाका १९ वटै वडाबाट एक–एक जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका हुन् । नगरप्रमुख नरुलाल चौधरीले सम्मान गरे ।

 

वडागत रूपमा सम्मानित हुने महिला स्वास्थ्य स्वंसेविकामा वडा नम्बर १ बाट तारा सुवेदी, वडा नम्बर २ बाट बालिका पोख्रेल, वडा नम्बर ३ बाट जानका अधिकारी, वडा नम्बर ४ बाट कमलादेवी शर्मा, वडा नम्बर ५ बाट निर्मला डिसी, वडा नम्बर ६ बाट गोमा केसी खनाल, वडा नम्बर ७ बाट गीता चौधरी, वडा नम्बर ८ बाट खिमा चौधरी, वडा नम्बर ९ बाट नोखा केसी, वडा नम्बर १० बाट तिला बस्नेत रहेका छन् ।


यसैगरी वडा नम्बर ११ बाट लक्ष्मी देवकोटा, वडा नम्बर १२ बाट देवा पुरी, वडा नम्बर १३ बाट अम्बि विक, वडा नम्बर १४ बाट रीता थापा, वडा नम्बर १५ बाट नितु जिसी काजल, वडा नम्बर १६ बाट देवा केसी, वडा नम्बर १७ बाट निरु आचार्य, वडा नम्बर १८ बाट विष्णा आचार्य र वडा नम्बर १९ बाट मनकुमारी राना सम्मानित भए ।


८ पालिकाभरका आमा समूहमध्येबाट उत्कृष्ट ५ वटा आमा समूहलाई पनि विशेष सम्मान गरिएको छ । पालिकाभरका कुल २ सय ३२ समूहमध्ये गोला प्रथाबाट छनोट भएका वडा नम्बर ६ को झरना आमा समूह, ७ को लालीगुराँस आमा समूह, ८ को दुन्द्रा स्वास्थ्य आमा समूह, १३ को सहिद रामपुरा आमा समूह र १७ बाट मनकामना आमा समूहलाई विशेष सम्मान गरिएको छ । 


पालिकामा हाल २ सय ३२ महिला स्वास्थ्य स्वयंसेविका छन् । पालिकाले महिला स्वास्थ्य स्वयंसेविका दिवस अवसर पारेर एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई मरणोपरान्त सम्मान गरेको छ ।

 

१६ भदौ ०७८ मा सिस्ने खोलामा आएको बाढीमा बगेर मृत्यु भएकी राधा कुँवर श्रेष्ठलाई नगद २० हजार रुपैयाँसहित मरणोपरान्त विशेष सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताए ।