close

चौतारा अस्पतालमा सञ्चालनमा आयो अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला 

चौतारा अस्पतालमा सञ्चालनमा आयो अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै पाइपलाइनबाट बिरामीको शय्यामै अक्सिजन पुर्‍याइएको छ । 

 

प्लान्टबाट प्रतिघन्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन हुने मेडिकल सुपरिटेन्डेन्ट डा. करुणा वज्राचार्यले बताइन् । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इमर्जेन्सी र अन्य वार्डमा रहेका शय्यामा पुर्‍याइएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिन अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । 

 

‘हामीले चौतारा अस्पतालबाट बिरामीलाई सम्पूर्ण सेवा–सुविधा दिने गरी काम गरिरहेका छौँ,’ अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठले भने, ‘अस्पतालको भवन नहुँदासमेत नगरपालिकाले दिएको फिल्ड ट्रेनिङ सेन्टरलाई आइसोलेसन वार्ड र पिसिआर ल्याब स्थापना गरी बिरामीको उपचार गरेका थियौँ ।’

 

चीन सरकारको सहयोगमा तत्काल चौतारा अस्पतालको भवन निर्माण गरिने उनले बताए । त्यस्तै, जिल्ला अस्पताल चौताराबाट कोभिड–१९ पिसिआर परीक्षण सुरु भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोकमै कोरोना भाइरस परीक्षण सुरु भएको हो । 

 

चौतारा अस्पतालमा पिसिआर मेसिन जडान गरी पिसिआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ । बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित तीन जनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमुना परीक्षण गरेको थियो ।

 

प्रयोगशालामा १० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिए । कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि पाँच जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको चौतारा अस्पतालले बताएको छ ।