close

बालबालिकालाई विद्यालयमै खोप

बालबालिकालाई विद्यालयमै खोप

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले विद्यालय परिसरभित्रै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाउने तयारी भएको जानकारी दिएका हुन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमै खोप केन्द्र राखेर खोप लगाइने उनको भनाइ छ । उनका अनुसार आउँदो ४ पुसदेखि बालबालिकालाई खोप लगाइनेछ । 

 

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन मोडर्ना खोप ल्याएको छ । उनले बुस्टर डोज लगाउन सरकारले नीतिगत र व्यावहारिक रूपमा तयारी गरिसकेको जानकारी दिए । ‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउनेबारे मेरो सल्लाह भइसकेको छ’, मन्त्री खतिवडाले भने, ‘थप सुरक्षित हुन दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।’ 


नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउन सिफारिस गरेको छ।