close

महानगरको स्वास्थ्य शिविरमा २ हजार २६९ जनाले लिए सेवा 

महानगरको स्वास्थ्य शिविरमा २ हजार २६९ जनाले लिए सेवा 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरले २७औँ महानगर दिवस अवसरमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरबाट २ हजार २६९ जनाले सेवा लिएका छन् । यसमध्ये १ हजार ४१० जनाले साधारण स्वास्थ्य परीक्षण गराएको महानगरले जनाएको छ । 


शिविरबाट ४३ जना ज्येष्ठ नागरिकलाई निमोनियाको खोप दिइएको छ । ७८८ जनाको ल्याब परीक्षण गरिएको छ । यसमा ब्लड सुगर, एल्बोमिन, हेमोग्लोबिन, टीजी, कोलेस्ट्रोललगायत परीक्षण गराइएको महानगरले बताएको छ । 


महानगर दिवस मूल समारोहसँगै चलाइएको शिविरमा २८ जनाको कोभिड परीक्षणका लागि पिसिआर गरिएको थियो । शिविरमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्यकर्मीलाई खोप प्रदान गर्दै निमोनिया खोप कार्यक्रम सुरु गरे । 


सरल, सहज स्वास्थ्य सेवाका लागि महानगरले यस क्षेत्रमा लगानी बढाएको शाक्यले बताए । महानगरले सञ्चालन गर्ने सेवासँगै विशेषज्ञ स्वास्थ्य सेवाका लागि सरकारी र सामुदायिक अस्पतालको क्षमता विस्तारमा लगानी गरिएको उनको भनाइ छ । 

 

महानगरले निमोनियाविरुद्धको खोप कार्यक्रम वडा स्तरबाट चलाउनेछ । खोप खरिद प्रक्रिया अघि बढेको शाक्यले बताए । महानगरको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘खोप प्राप्त गर्न करिब १ महिना अवधि लाग्ला । त्यसपछि हाम्रो कार्यक्रम चल्नेछ ।’