close

राप्तीका स्वास्थ्य संस्थामा बृहत् पोषण क्षमता तालिम

राप्तीका स्वास्थ्य संस्थामा बृहत् पोषण क्षमता तालिम

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिका क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी दोस्रो चरणको तालिम दिन सुरु गरिएको छ । बुधबारबाट सुरु भएको तालिम ७ दिनसम्म सञ्चालन हुनेछ । तालिम उद्घाटन गर्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले विशेषगरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

 

उपाध्यक्ष चौधरीले बालबालिकाको सुरुआती वर्षमा पोषणमा गरिने लगानीले उनीहरूसँगै तिनका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्न सुझाइन् ।  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले एक सातासम्म सञ्चालन हुने तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।


बृहत् पोषण प्याकेजमा महिलाका हक अधिकार, बच्चाका हक अधिकार, परम्परा तथा समाजिक व्यवहारले समेत प्रभाव पार्ने उनले बताए । स्वास्थ्यकर्मीले सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले खान पान, लवाइखवाइबारे सुझाव तथा परामर्श दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

 

स्वास्थ्य शाखा संयोजक नारायण राउतले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण दरिलो जग भएको बताए । राम्रो पोषण पाएका बालबालिका राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुका साथै रोग, विपत्ति तथा अन्य संकटसँग जुध्न सामथ्र्य हुने भएकाले यसको महत्त्व रहेको बताए ।