close

रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

Trulli
ADVERTISEMENT

रामपुर (पाल्पा)– पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुती शल्यक्रिया सेवा ठप्प छ । विशेषज्ञ डाक्टर नहुदा सो सेवा सञ्चालन गर्न सकिएको छैन । डाक्टर वासुदेव सुवेदीले अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो । 


       
सामान्य प्रसुती सेवा भने यथावत् नै छ । यस अस्पतालमा २०७७ को चैत मसान्तमा शल्यक्रियामार्फत पहिलो पटक सफल बच्चा जन्मिएको थियो । सो समयदेखि नियमितरूपमा डाक्टर सुवेदीको नेतृत्वमा गत भदौसम्म शल्यक्रियामार्फत सफल प्रसुती सेवा प्रवाह भइरहेको थियो । डाक्टर सुवेदीको नेतृत्वमा सात जना स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया सेवा दिएको थियो । 


       
शल्यक्रिया सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयमा एक जना विशेषज्ञ डाक्टर उपलब्ध गराउन अनुरोध गरेको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डाक्टर विजय परियार बताउँछन्  ।


       
उनी भन्छन्, ‘अस्पतालमा शल्यक्रियामार्फत प्रसुती सेवा सुरु गरेर बीचमा विशेषज्ञ डाक्टरको समस्याले बन्द हुँदा यसमा सबैको चासो र चिन्तन बढेको छ, म आफू पनि डाक्टरको व्यवस्थापनका लागि पटकपटक मन्त्रालयमा पुगेको छु, अबको एक हप्ताभित्रमा डाक्टरको प्रबन्ध हुने आश्वासन पाएको छु ।’ 


       
अस्पतालको सेवालाई नरोक्न विशेषज्ञ डाक्टरको व्यवस्थापनका निम्ति प्रदेश र सङ्घीय सरकारसँग पटकपटक जानकारी गराइए पनि अहिलेसम्म डाक्टरको व्यवस्थापन हुन नसकेको डाक्टर परियारको भनाइ छ । 


       
सदरमुकाम तानसेनदेखि पूर्वमा रहेको रामपुरमा शल्यक्रिया सेवा सञ्चालन हुँदा प्रसुती सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको थियो । सेवा सुरु भएको पाँच महिनामै बन्द हुन पुग्दा शल्यक्रियामार्फत प्रसुती सेवा लिन पाल्पा सदरमुकाम तानसेनमै जानुपर्ने बाध्यता छ । 


       
यहाँ पाँच महिनाको अवधिमा २७ जनाको शल्यक्रियामार्फत प्रसुती गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतमले बताइन् । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनाले प्रसुती सेवा लिएका छन् । 


       
‘हामीलाई पहिलो नै शल्यक्रिया सुरु गर्दा जोखिम थियो, पहिलो अपरेशन सफल भएपछि अरुको शल्यक्रिया गर्नलाई आत्मबल बढ्यो, ४५ मिनेटदेखि एक घण्टाको समयमा शल्यक्रिया गरेर बच्चा जन्मिएको छ’, उनले भनिन् ।


       
लुम्बिनी प्रदेश सरकारका तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बरालले २०७७ फागुन १६ गते विधिवत्रूपमा शल्यक्रिया सेवाको उद्घाटन गरेका थिए । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको यस अस्पतालमा झण्डै २५ वर्षपछि मात्रै शल्यक्रिया सेवा थालनी भए पनि बीचमै सेवा रोकिन पुगेको छ । गर्भवति महिला, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफार लगायतको सेवा दिने गरी निक साइमन्स इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालनी गरिएको हो । 

 

भिडियो एक्स–रे सेवा बन्द


       
अस्पतालमा रहेको भिडियो एक्स–रे सेवा पनि बन्द छ । भिडियो एक्स–रे गर्ने डाक्टरको अभावमा सो सेवा दिन नसकिएको अस्पतालका प्रशासन सहायक हिरा विक बताउँछन् । 


       
अस्पतालमा भिडियो एक्स–रे गर्न नपाउँदा नागरिकले निजी स्वास्थ्य संस्थामा पुगेर महँगो मूल्यमा सेवा लिनुपर्ने समस्या रहेको रामपुर नगरपालिका–२ बस्ने स्थानीय खेमबहादुर राना गुनासो गर्छन्  ।


       
‘अस्पतालमा भएको सेवा लिन पाइँदैन, अन्यत्र रकम खर्च गरेर सेवा लिन जानुपर्ने बाध्यता छ, अस्पताल व्यवस्थापन समितिले कर्मचारी व्यवस्थापनमा ध्यान नदिँदा नागरिकले सास्ती खेप्नु परिरहेको छ, हामीलाई एक त सेवा नपाउनु समस्या अर्को अन्यत्र निजी संस्थामा जाँदा आर्थिक भारको पिरलो छ’, उनले भने । 


       
यहाँ भिडियो एक्स–रे सेवा कहिले चल्ने कहिले बन्द हुने प्रवृत्तिले नागरिकले निकै झन्झट बेहोर्नु परेको छ । भिडियो एक्स–रेकै लागि टाढाटाढाबाट पनि बिरामी अस्पतालसम्म आउने गर्छन् । तर सेवा नपाउँदा त्यसै फर्कन बाध्य भएका छन् । 


       
 अस्पतालमा दरबन्दी छ तर डाक्टर नै नभएपछि सेवा नै बन्द हुँदा बिरामी मारमा परेको छ । यहाँ पछिल्लो समय दिनहुँ बिरामीको चाप बढिरहेको छ । दैनिकजसो २०० देखि २५० सम्म बिरामी उपचारमा आउने गर्छन् ।


       
दरबन्दीअनुसारका डाक्टर नहुँदा तोकेअनुसारका नागरिकले अझै पनि पूरा सेवा पाउन सकिरहेका छैनन् । रामपुर अस्पताल पूर्वी पाल्पासँगै स्याङ्जा, तनहुँ र नवलपुर जिल्लाका नागरिकले सेवा लिने ठूलो अस्पताल हो ।


       
सम्बन्धित निकायले नागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै छिटोभन्दा छिटो विशेषज्ञ डाक्टरको व्यवस्थापन गरिदिन स्थानीयको माग छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयअन्तर्गत पर्ने सो अस्पतालको सेवा प्रवाह, कर्मचारी व्यवस्थापनसम्बन्धी प्रदेश सरकारले चासो देखाएको छैन ।       


       
समयसमयमा अस्पतालको अनुगमन तथा कर्मचारी व्यवस्थापन, नागरिकले सेवा पाए नपाएका सम्बन्धमा प्रदेश सरकारको बेवास्ताले यहाँ विशेषज्ञ डाक्टरको समस्या निम्तिएको हो । भौगोलिक हिसाबले सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर पूर्वमा पर्ने यस अस्पतालको स्तरोन्नति भई अहिले ५० श्ययाको भवन निर्माण कार्य अन्तिम चरणमा छ ।