close

महोत्तरीका दुई पालिकामा लगाइँदै दैनिक खोप

महोत्तरीका दुई पालिकामा लगाइँदै दैनिक खोप

Trulli
ADVERTISEMENT

महोत्तरी–महोत्तरीको जलेश्वर र बर्दिबासमा दैनिक कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सार्वजनिक बिदाको दिनबाहेक तोकिएका केन्द्रमा हरेक दिन कोरोना खोप सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको हो । स्वास्थ्य कार्यालय प्रमुख भोला यादवका अनुसार कोरोना खोप सबैको पहुँचमा पुर्‍याउन दैनिक रूपमा लगाउन थालिएको हो ।

 

२१ पुसदेखि १५ वटै पालिकाका हरेक टोलमा पुगेर खोप लगाउन प्रचार–प्रसार सुरु भएको छ । पुस मसान्तसम्म ६६ प्रतिशत जनसंख्यामा खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ । अहिलेसम्म जम्मा जनसंख्याको ५४ प्रतिशतमा मात्र पहिलो डोज खोप लगाइएको र ३३ प्रतिशतले पहिलो र दोस्रो डोज खोप लिएको स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म खोप नै लगाउन नपाएका मुसहर समुदायका लागि लक्षित गरेर अभियानलाई तीव्र बनाउने तयारी छ ।

 

१२–१७ वर्ष उमेर समूहका बालबालिकाका लागि लक्षित खोप झन्डै ६७ प्रतिशतले लगाइसकेका छन् भने बाँकीलाई पुनः खोप अभियान चलाइने प्रमुख यादवले जानकारी दिए ।

 

मुसहर समुदाय कोरोना खोपबाट वञ्चित भएका समाचार बाहिर आएपछि जिल्लास्थित कोभिड रोकथाम तथा व्यवस्थापन समितिले उक्त समुदायका लागि विशेष रूपमा कोरोनाविरुद्धको खोप लगाउने अभियान थालेको हो ।