close

कोरोनाले स्थगित भए कैलालीका मेला–महोत्सव

कोरोनाले स्थगित भए कैलालीका मेला–महोत्सव

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीमा २ वर्षदेखि कोरोनाका कारण प्रभावित हुँदै आएका मेला महोत्सव यो वर्ष पनि स्थगित भएका छन् । कोरोनाका कारण यो वर्ष घोषणा भएर तयारी पूरा भएका कार्यक्रम पनि स्थगित हुन पुगेका हुन् ।

 

अत्तरिया उद्योग वाणिज्य संघले मंगलबारबाट सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना गर्न सम्पूर्ण तयारी पूरा गरेको २४ घन्टा अगाडि कार्यक्रम स्थगित गर्नुपरेको छ । गोदावरीधाम विकास समितिले १ माघदेखि आयोजना गर्ने भनेको महाकुम्भ मेला पनि कोरोनाकै कारण ५ दिन अगाडि स्थगित भएको छ ।


सोमबार अत्तरिया उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ । उद्योग वाणिज्य संघ अध्यक्ष अशोकराज देवकोटाद्वारा जारी विज्ञप्तिमा महोत्सवको तयारी पूरा भइसके पनि स्थगित गरिएको उल्लेख छ । ‘पूर्ण तयारी हुँदाहुँदै पनि अचानक फैलिएको कोभिड–१९ का कारण संघको आयोजनामा हुने भनिएको सुदूरपश्चिम महोत्सव २०७८ स्थगित भएको जानकारी गराइन्छ,’ संघले भनेको छ ।

 

अत्तरिया उद्योग वाणिज्य संघ अध्यक्ष देवकोटाले कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको बताए । महोत्सवका लागि सबै तयारी पूरा भए पनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको उनको भनाइ छ ।

 

हाल महोत्सवका लागि तयार गरिएका संरचना पनि कार्यसमितिको बैठकबाट निर्णय गरेर हटाइनेछ । महोत्सवका लागि आयोजकले महोत्सव स्थल घेराबारका साथै स्वागत गेट, मञ्च, स्टल निर्माण गरिसकेको थियो भने विभिन्न रमाइलो मेलाका सेट पनि जडान गरिएका थिए ।

 

अत्तरिया अद्योग बाणिज्य संघले महोत्सवका लागि करिब १५ लाख रुपैयाँ लगानी गरिएको जनाएको छ । महोत्सव स्थागित हुँदा उक्त लगानी खेर गएको संघले जनाएको छ ।

 

यसैबीच ०७२ देखि वार्षिक रूपमा आयोजना गरिँदै आएको कुम्भ मेलाका कार्यक्रम पनि कोरोना महामारीका कारण स्थगित गरिएको छ । समितिले ०७२ मा महाकुम्भ मेला आयोजना गरेपछि त्यसपछिका वर्षमा १ माघमा कुम्भ मेला आयोजना गर्दै आएको थियो ।

 

यो वर्ष महाकुम्भ मेला आयोजना भएको ६ वर्ष पुगेकाले अर्ध कुम्भ मेला आयोजना गरिने जनाइएको थियो । गोदावरीधाम विकास समितिले सोमबार विज्ञप्ति जारी गर्दै भौतिक रूपमा गरिने सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ ।


‘पवित्र देवभूमिको प्रवेशद्वार पश्चिम नेपालमा अवस्थित प्रसिद्ध तीर्थस्थल गोदावरीधाम कैलालीमा यो वर्ष ०७८ माघमा आयोजना हुने भनिएको गोदावरी अर्ध कुम्भ मेलाका भौतिक रूपमा गरिने सम्पूर्ण औपचारिक कार्यक्रम कोरोना महामारीका कारण सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासनको परामर्शमा स्थगित गरेका छौँ,’ गोदावरीधाम विकास समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, कुम्भ मेलाको परम्परालाई निरन्तरता दिन गरिने गंगा पूजन, कलश पूजन, पञ्चांग पुराण पारायण, लक्ष्यहवन आदि धार्मिक अनुष्ठान सांकेतिक रूपमा सरकारले तोकेका मापदण्ड पालना गर्दै सम्पादन गरिनेछ ।’

 

गोदावरीधाम विकास समितिका अध्यक्ष पद्मराज जोशीद्वारा जारी विज्ञप्तिमा धार्मिक गतिविधि अनलाइन विधिबाट प्रसारण गरिने जनाइएको छ । पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमण दर एक्कासि बढ्दा नेपालमा पनि संक्रमित थपिने क्रम बढ्दै गएको छ । सोही क्रममा सुदूरपश्चिममा पनि भारतबाट मजदुुरी गरेर नेपाल फर्किनेको संख्या बढेपछि कोरोना संक्रमितको संख्या प्रदेशमा थपिँदै गएको छ । 

 

यसले यो क्षेत्रमा पनि समुदाय स्तरमै कोरोना फैलन सक्ने सम्भावना बढेकाले मेला, महोत्सवका कार्यक्रम स्थगित गरिएको आयोजनकले जनाएका छन् । यसअघि आइतबार मात्रै सीसीएससीको बैठकले मेला महोत्सवमा रोक लगाउन सरकारलाई सिफारिस गरिसकेको छ भने सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ बढीको भेला रोक्ने निर्णय गरेको छ ।