close

सर्केगाड पालिकाका स्वास्थ्य चौकीमा औषधी अभाव

सर्केगाड पालिकाका स्वास्थ्य चौकीमा औषधी अभाव

Trulli
ADVERTISEMENT

जुम्ला–गाउँपालिकाले महिनौँदेखि औषधी खरिद नगर्दा यहाँका स्वास्थ्य चौकीमा सिटामोलसमेत पाइन छाडेको छ । घन्टौँ हिँडेर स्वास्थ्य चौकी पुग्ने बिरामी निराश हुँदै घर फर्किन्छन् । सर्केगाड गाउँपालिका वडा नम्बर ३ की हजारी फडेरा पेट दुख्ने समस्या भएपछि करिब दुई घन्टा पैदल हिँडेर साया स्वास्थ्य चौकी पुगिन् । स्वास्थ्यकर्मीले चेकजाँच गरे तर औषधी दिन सकेनन् ।

 

स्वास्थ्य चौकीमा औषधी छैन । स्वास्थ्य चौकीबाट निःशुल्क पाउनुपर्ने औषधी निजी फार्मेसीबाट महँगो मूल्यमा किनेर हजारी फर्किइन् । हजारी मात्र होइन, पछिल्लो समय साया स्वास्थ्य चौकी पुग्ने सबै बिरामीले औषधी पाउन सकेका छैनन् । सर्केगाड गाउँपालिकाको साया, दुल्ली, मुण्डीलगायतबाट स्थानीय उपचार र औषधीका लागि साया स्वास्थ्य चौकी पुग्छन् । तर, औषधी नपाउँदा रित्तो हात फर्किनुपर्ने अवस्था छ । ‘स्थानीय नागरिक घन्टौँ हिँडेर स्वास्थ्य चौकी पुग्छन् तर औषधी नपाएर खाली हात फर्किनु परिरहेको छ,’ हजारीले भनिन्, ‘मैले पनि व्यर्थमा दुःख पाएँ । स्वास्थ्य चौकीमा निःशुल्क पाइने औषधी नपाउँदा निजी मेडिकलमा महँगो मूल्य तिर्न बाध्य भएँ ।’

 

साया हुम्लाको मध्य भेगमा पर्ने सर्केगाड पालिकाको केन्द्रमा पर्छ  । त्यसैले आसपासका गाउँका बिरामी उपचारका लागि अन्यत्रभन्दा साया नै पुग्ने गर्छन् । तर, गाउँपालिकाको लापरबाहीका कारण बिरामीले महिनौँदेखि यस्तो सास्ती भोग्दै आएका छन् । अनमी बिजौरा शाहीका अनुसार स्वास्थ्य चौकीमा महिलाले प्रयोग गर्ने पिल्स चक्कीसमेत छैन ।


‘स्वास्थ्य चौकी नखोल्दा किन खोलेनौँ भन्छन्, खोलौँ भने औषधी छैन,’ शाहीले दुःखेसो पोखिन् । गाउँपालिकाले चासो नदिँदा स्वास्थ्य चौकीमा औषधी नभएको अहेब धर्मराज शाहीले बताए । ‘बिरामी आउँछन्, स्वास्थ्य चौकीमा औषधी छैन । हामीलाई गाली गर्छन्,’ अहेब शाहीले भने, ‘स्वास्थ्य चौकीमा आगो लगाउँछौँ भन्ने धम्कीसमेत दिन्छन् ।’