close

कोरोना संक्रमणले लपेटिँदै बालबालिका 

कोरोना संक्रमणले लपेटिँदै बालबालिका 

Trulli
ADVERTISEMENT

काठमाडौं–कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएसँगै बालबालिकामा पनि दैनिक दोब्बरले संक्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै १८ वर्षमुनिका १ सय १६ जना बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन फैलिएसँगै देशभर बालबालिकामा पनि संक्रमण बढ्दै गएको हो ।

 

मन्त्रालयका अनुसार आइतबार ७५ जनामा संक्रमण देखिएको थियो । शनिबार ६७ जना संक्रमित भएका थिए । पछिल्लो २४ घन्टामा देशभर २४ सय बढीमा संक्रमण देखिएको छ । कोभिडको दोस्रो लहरपछि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिकामा संक्रमण गत मंगलबारदेखि उकालो लागेको हो ।

 

गत सोमबार २२ बालबालिका संक्रमित भएका थिए । मंगलबार, बुधबार, बिहीबार र शुक्रबार क्रमशः ४२, ४२, ५७ र ४३ जनामा संक्रमण देखिएको छ । १२ वर्षमुनिका बालबालिका खोपको पहुँचमा नभएको र ओमिक्रोन बालबालिकामा बढी देखिने दरका कारण संक्रमण दिनानुदिन बढिरहेको चिकित्सकले अनुमान गरेका छन् । 

 

हालसम्म १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख २५ हजार ४ सय ८ बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् । संक्रमण बढेसँगै बालबालिका खोप कार्यक्रममा तीव्रता दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मंगलबारदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई फाइजर र मोडर्ना खोप दिन लागिएको छ । 

 

अमेरिकामा बालबालिका अस्पताल भर्ना दर बढ्यो 

कोभिड महामारी सुरु भएयताकै सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा खोप उपलब्ध नभएका उमेर समूहका बालबालिकाको अस्पताल भर्ना दर बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले गरेको पछिल्लो सर्वेक्षणले पाँच वर्षमुनिका बालबालिकामा कोभिड संक्रमणका कारण अस्पताल पुग्नेको संख्या बढेको देखाएको हो ।

 

अमेरिकामा गत सातादेखि दैनिक औसत अस्पताल भर्ना दर ६ सय ७२ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा धेरै रहेको सिडिसीले जनाएको छ । साना बालबालिकामा बढेको अस्पताल भर्ना दरका कारण ओमिक्रोन र अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमणलाई मानिएको छ । खासगरी ५ वर्षभन्दा माथि उमेर समूहमा तुलनात्मक रूपमा संक्रमण कम देखिएकाले समेत ओमिक्रोन जिम्मेवार रहेको विज्ञहरूको अनुमान छ ।

 

तर, हालसम्म संक्रमित बालबालिका अझै पनि वयस्कको तुलनामा गम्भीर बिरामी हुने जोखिम धेरै कम छ । अघिल्ला लहरमा साना बालबालिका अस्पताल भर्ना भए पनि आइसियु तथा भेन्टिलेटरमा पुग्ने दर निकै न्यून थियो । सिडिसीको तथ्यांकअनुसार १ जनवरीदेखि मात्रै ४ वर्षमुनिका १ लाखभन्दा बढी बालबालिका अस्पताल भर्ना भइसकेका छन् । यो पछिल्लो महिनाको तुलनामा दोब्बर र पछिल्लो वर्षको तुलनामा झन्डै ३ गुणा बढी भएको सिडिसीले जनाएको छ ।

 

तर, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमण दर पछिल्लो वर्षजस्तै करिब ०.६ प्रतिशत हाराहारीमा छ । अमेरिकामा ५ देखि ११ वर्ष उमेरका १६ प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । खोप लगाउन मिल्ने जनसंख्यामा बुस्टर डोजसमेत प्रयोग भइरहेको छ । तर, खोप लगाउन नमिल्ने समूहमा अस्पताल भर्ना दर बढेको सिडिसीकी निर्देशक डा. रोशेल वालेन्स्कीले बताइन् ।

 

‘पछिल्लो सातायता २१ प्रतिशत बालबालिकामा संक्रमण देखिनु सामान्य होइन । गम्भीर समस्या न्यून देखिए पनि बालबालिकाको स्वास्थ्यलाई महत्त्व दिन आवश्यक छ,’ उनले भनिन् । बालबालिकाको बढ्दो अस्पताल भर्ना दरले ओमिक्रोनले साना बालबालिका बढी प्रभावित हुने चिकित्सकले अनुमान गरेका छन् । भारतमा पनि ओमिक्रोन फैलिएसँगै गत वर्षको तुलनामा बालबालिका अस्पताल भर्ना दर बढेको छ ।

 

ओमिक्रोनले बालबालिकाको श्वासनलीमा असर गरिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । दिल्लीस्थित बालाजी एक्सन मेडिकल इन्स्टिच्युटका श्वासप्रश्वास रोग विशेषज्ञ डा.अनिमेश अर्यालले भनेका छन्, ‘बालबालिकाको श्वासनली वयस्कको तुलनामा साँघुरो हुने भएकाले श्वासनलीको माथिल्लो भागमा संक्रमण देखिएको छ । प्रतिरोधी क्षमता कमजोर र भ्याक्सिनसमेत प्रयोग नभएका यो समूहमा भाइरसले अन्य अंगमा पनि प्रभाव पार्ने जोखिम बढी देखिन्छ ।’

 

काठमाडौंमा खोप लगाउने स्थान

कोरोनाको दर दैनिक बढ्न थालेसँगै सरकारले विद्यालय बन्ददेखि सार्वजनिक स्थलमा २५ भन्दा धेरै जम्मा हुन नपाउने भनेको छ । सरकारले यो नियम लागू गरेसँगै खोप लगाउन छुटेका र पहिलो डोज लगाएका कतिपय खोपका लागि लाइन लागिरहेका छन् । 
काठमाडौंमा रहेका कसैले खोप लगाउन पाएका छैनन् वा दोस्रो मात्रा लगाउन बाँकी छ भने ११ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । १८ वर्षभन्दा माथिका उमेर समूहले ती ठाउँमा गएर खोप लगाउन सक्नेछन् । आफूलाई पायक पर्ने जुनसुकै ठाउँमा गएर खोप लगाउन सक्नेछन् ।

 

त्यसका लागि पहिलो डोज लगाएकाले खोप कार्ड र पहिलो मात्रा पनि नलगाएकाले आफ्नो परिचयपत्र लिएर जाँदा खोप लगाउन पाउनेछन् । काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नागार्जुन नगरपालिका र शंखरापुर नगरपालिकाबाहेक अन्य नगरपालिकाभित्र खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

कीर्तिपुर नगरपालिकामा विष्णुदेवी अस्पताल कीर्तिपुरमा खोप कार्यक्रम सञ्चालनमा छ । कागेश्वरी मनोहरा नगरपालिकामा पनि खोप कार्यक्रम यथावत् छ । नगरपालिकाभित्र मूलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमा खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । 

 

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको गोकर्णेश्वर अस्पतालमा खोप कार्यक्रम सञ्चालनमा छ । दक्षिणकाली नगरपालिकाका प्रवक्ता अम्रिका बलामीका अनुसार खोप लगाउन छुटेकालाई ९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा खोप लगाइँदै छ ।

 

तारकेश्वर नगरपालिकामा मनमैजु स्वास्थ्य चौकीमा बिहान १० देखि साँझ ४ बजेसम्म खोप दिइँदै आएको छ । टोखा नगरपालिकाले मंगलबारदेखि १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाउने भएकाले अन्य उमेर समूहलाई ६ माघसम्मका लागि खोप नलगाउने भएको छ । 

 

काठमाडौंका ६ स्थानीय तहबाहेक जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं मातहत पनि खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । काठमाडौंका आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, टिचिङ अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सिभिल अस्पताल, प्रसूति गृह, वयोधा अस्पताल, कोटेश्वर एपेक्स पोलिक्लिनिक, नयाँ बसपार्क गोंगबु, सहिद मेमोरियल अस्पताल कलंकीमा गएर छुटेका वा पहिलो डोज लगाएकाले खोप लगाउन सकिनेछ । 

 

प्रभावकारी भएन दैनिक पाँच लाखलाई खोप लगाउने योजना

सरकारले दैनिक ५ लाख नागरिकलाई खोप लगाउने घोषणा गरेको थियो । तर, सरकारले लिएको लक्ष्यअनुसार खोप अभियान अघि बढ्न सकेको छैन । हरेक दिन खोप लगाउनेको संख्या २ लाख हाराहारी मात्र देखिएको छ । पर्याप्त सिरिन्ज नहुँदा दैनिक ५ लाखलाई खोप लगाउने अभियान कार्यान्वयनमा नआएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

 

कोभिड महामारीको समयमा तीन तहका सरकारबीच समन्वय हुन नसक्दा खोप अभियान बरालिएको उनीहरूको भनाइ छ । सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिँदै आएको छ । तर, संघीय सरकारको निर्णयअनुसार सबैले खोप सहज रूपमा पाएका छैनन् । कतिपय खोप केन्द्रले नेपालमा उपलब्ध भएका खोप आवश्यकताअनुसार दिएका छन् भने कतिपय केन्द्रले आफूलाई सहज हुने खोप मात्रै चलाएका छन् ।