नवलपरासी पश्चिम– बर्दघाट नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगर घोषणाको तयारी गरिएको छ । अभियानअन्तर्गत बुधबार वडा नम्बर २ लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।
नगरका १५ वटा वडा अब पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएका छन् । नगर केन्द्रसमेत रहेको वडा नम्बर ४ र नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने तयारी भइरहेको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । ‘हामी देशकै पहिलो पूर्ण संस्थागत सुत्केरी पालिकाको रूपमा आउँदै छौँ’, बस्यालले भने, ‘त्यसका लागि सबै सूचक पूरा भइसकेका छन् ।’
वडा नम्बर २ को चुरे इलाकामा निःशुल्क एम्बुलेन्स सेवा दिएर संस्थागत सुत्केरीको व्यवस्था गरिएको छ । स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार संस्थागत रूपमा सुत्केरी भएका आमालाई नगरले प्रोत्साहनस्वरूप ५ हजार रुपैयाँ दिँदै आएको छ ।