close

बाजुरामा आइसोलेसन नहुँदा पालमै राखियो संक्रमित

बाजुरामा आइसोलेसन नहुँदा पालमै राखियो संक्रमित

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरामा कोरोना संक्रमितका लागि आइसोलेसन कक्ष नहुँदा पालमै राख्ने गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित भएका एक जनालाई पालभित्रै राखिएको हो ।

 

बूढीनन्दा नगरपालिका वडा नम्बर ७ का महेश कार्कीलाई एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार एन्टिजेन परीक्षणबाट संक्रमित भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको हो ।


स्वास्थ्य परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र बसिरहेको उनले गुनासो गरे । ‘घर जाऔँ भने अपहेलना गर्छन् । कोरोना भएको हल्ला बजारभरि छाइसक्यो । संक्रमित भएको जानकारी नगरपालिकालाई दिए पनि सुनुवाइ नहुँदा पालमै दिनरात कटाउने गरेको छु’, उनले भने ।


नगरपालिकासँग न्यानोमा बस्न र कपडाको व्यवस्था गरिदिन आग्रह गरे पनि कर्मचारीले नसक्ने भन्दै आफैं जुटाउन भनेको उनले सुनाए । नगरपालिकमा आइसोलेन कक्ष नहुँदा संक्रमितलाई अहिले आयुर्वेदको भवन नजिकै पालभित्र राखिएको छ । इलाका प्रहरी कार्यालय कोल्टीले उपलब्ध गराएको पालमा बसिरहेको संक्रमितले बताए ।

 

बस्ने ठाउँ र अन्य कुनै सुविधा नहुँदा बाढीपहिरो प्रभावितलाई वितरण गर्ने एकसरो पालभित्र चिसोमा कठ्यांग्रिँदै बस्नुपरेको र बत्ती, खानेपानी तथा शौचालयसमेत नभएको उनले बताए ।

 

नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले नगरले निर्माण गरेको आइसोलेसन कक्ष टाढा भएका कारण संक्रमित बस्ने नमान्ने र स्वास्थ्यकर्मी पनि चेकजाँचमा जान नमान्दा समस्या भएको जानकारी दिए ।

 

पुरानो आर्मी ब्यारेकमा १० बेडको आइसोलेन कक्ष निर्माण भए पनि संक्रमित र स्वास्थ्यकर्मी दुवैलाई असहज भएको बताए । कोरोना रोकथाम तथा नियन्तरण गर्ने योजना दुई वर्षमा त्यति प्रभावकारी हुन नसकेको बताउँदै उनले समन्वय गरी नयाँ योजनाअनुसार अगाडि बढ्ने बताए ।


बाजुराका स्थानीय पालिकाले सामान्य आइसोलेसन कक्ष र हेल्थ डेस्क स्थापना गर्न नसकेकोे स्थानीयको गुनासो छ । यसअघि करोडौँको लगानी गरेर निर्माण भएका आइसोलेसन कक्ष पछिल्लो समय तालिम हल बन्न पुगेका छन् । 

 

संक्रमित व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा नरहे पनि स्वास्थ्य अवस्था भने सामान्य छ । चेकजाँचका लागि आउने स्वास्थ्यकर्मी २० मिटर जति टाढा रहने गरेका छन् । कोरोना शून्य रहेको बाजुरामा पछिल्लो समय संक्रमित थपिन थालेका छन् । जिल्लाका सबै नागरिकले खोप नलगाएका र स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि संक्रमण दर बढ्न सक्ने अनुमान गरिएको छ ।