close

अस्पताल भर्ना हुने कोरोना सङ्क्रमितको संख्या बढ्दै  

अस्पताल भर्ना हुने कोरोना सङ्क्रमितको संख्या बढ्दै  

Trulli
ADVERTISEMENT

काठमाडौं– दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या बढेर ६५ पुगिसकेको छ ।

 

युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी अधिकारी डा. भूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए । अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड देखिन थालेपछि बिरामीको उपचारमा समेत समस्या परेको जानकारी दिँदै उनले २४ घण्टाको अन्तरालमै ३२ जना सङ्क्रमित भर्ना हुनुलाई सकारात्मक लिन नमिल्ने बताए ।

 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोभिडका बिरामी बढ्न थालेका छन् । अस्पतालकी निर्देशक डा. मनिषा रावलले केही दिनयता अस्पतालमा कोभिडका बिरामी बढ्न थालेको जानकारी दिए । बिरामी बढ्न थालेपछि कोभिड र ननकोभिडका बिरामीको उपचार कसरी गर्ने भनेर आकस्मिक छलफल भएको जानकारी दिँदै उनले केही हप्ता कोभिडका बिरामी बढ्न सक्ने बताए ।

 

करिब एक साताअघि आउने सङ्क्रमितमा अस्पताल भर्ना गराउनुपर्ने बिरामी नभएको जानकारी दिँदै उनले पछिल्लो समय कोभिडका बिरामी बढ्न थालेको बताए । अस्पतालको आकस्मिक कक्षमा हाल दैनिक १५/२० जना सङ्क्रमित आउने गरेको जानकारी दिँदै उनले तीमध्ये सरदर पाँच जना भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको बताए ।

 

टेकु अस्पतालका आकस्मिक कक्षका प्रमुख लीला भण्डारीले अहिले आउने सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गर्नुपर्ने र अक्सिजन चाहिनेखालका कम रहेको बताइन् । उनले ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्नेजस्ता सामान्य लक्षण भएका बिरामी आउने गरेको जानकारी पनि दिए । यसअघि दोस्रो लहरका बेला एउटा बिरामी दुई महिनाभन्दा बढी अस्पताल भर्ना गर्नुपरेको थियो तर अहिले त्यस्तो अवस्था छैन ।

 

टेकु अस्पतालमा हाल रुघाखोकी र ज्वरोको समस्या लिएर दैनिक २५ देखि ३० जना आउने गरेका छन् । शुक्रराज अस्पतालमा पीसीआर परीक्षणका लागि पुग्नेको सङ्ख्या पनि बढेको छ । पीसीआर परीक्षण क्रममा कोभिड पोजेटिभ हुने दर पनि बढेको छ । केही दिन अघिसम्म ७०/८० जनाको पीसीआर गर्दा तीन÷चार जनामा मात्र कोरोना देखिने गरेकोमा अहिले अधिकांशलाई कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ ।

 

त्रिवि शिक्षण अस्पतालमा शुक्रबार ३२५ जनाको पीसीआर परीक्षण गराइएको थियो । तीमध्ये १६० जनालाई कोरोना पोजेटिभ देखिएको छ । सो अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शिक्षण अस्पतालमा ५० जना कोरोना सङ्क्रमित भर्ना भएको बताउँदै १२ जनाको आईसीयूमा उपचार भइरहेको जानकारी दिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ ।

 

कान्ति बाल अस्पतालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या कम भए पनि कोरोनाको शङ्का गरिएका बिरामी धेरै छन् । अस्पतालका निर्देशक डा. अजित रायमाझीले कोरोना सङ्क्रमित थोरै भए पनि शङ्कास्पद बिरामी १५ जना रहेको बताए ।