close

साता दिनमै १२ गुणा बढ्यो बागमती प्रदेशमा कोरोना संक्रमण

साता दिनमै १२ गुणा बढ्यो बागमती प्रदेशमा कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

काठमाडौं– बागमती प्रदेशमा पछिल्लो १० दिनमा कोरोना संक्रमित हुनेको संख्या १२ गुणा बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २० पुसमा बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २५३ थियो भने ३० पुसमा आइपुग्दा यो संख्या बढेर ३ हजार ८९ पुगेको हो । प्रदेशमा २१ पुसदेखि संक्रमितको संख्या बढिरहेको पाइएको छ ।

 

२१ पुसमा बागमती प्रदेशका २८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता, २२ पुसमा ३५०, २३ पुसमा ४३०, २४ पुसमा ५३६, २५ पुसमा ६६२, २६ पुसमा मा ९८६ जनामा संक्रमण देखिएको थियो ।

 


बागमती प्रदेशमा २७ पुसबाट कोरोना संक्रमितको संख्या ४ अंकमा प्रवेश गरेको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २७ पुसमा १ हजार ५०८ जनामा संक्रमण पुष्टि भएको थियो, जुन २० को तुलनामा करिब ६ गुणा बढी हो ।

 

२८ पुसमा कोरोना संक्रमणको दर बढेर १ हजार ८५१ जनामा पुगेको थियो । २९ पुसमा संक्रमितको संख्या २ हजार नाघेको थियो । यो दिन बागमती प्रदेशका २ हजार २१३ जनामा संक्रमण पुष्टि भएको थियो । 

 

३० पुससम्म बागमती प्रदेशमा कोरोना संक्रमणको दर ३ हजार बढी पुगेको छ । यो दिन प्रदेशका ३ हजार ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो संख्या २० पुसको तुलनामा १२ गुण बढी हुन आउँछ ।  त्यस्तै, १ माघमा प्रदेशभर २ हजार ८०४ जनामा संक्रमण पुष्टि भएको छ ।

 

सक्रिय संक्रमितको संख्या ६ गुणाले बढी

 

पछिल्लो १० दिनमा बागमती प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ गुणाले बढेको छ । २० पुसमा प्रदेशभर २ हजार ५२२ जना सक्रिय संक्रमित रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यसयता यो संख्यामा क्रमिक वृद्धि हुँदै १ माघसम्म १५ हजार ३३८ जना सक्रिय संक्रमित पुगेका छन्, जुन संख्या २० पुसको तुलनामा ६ गुणा बढी हो ।


बागमती प्रदेशमा २१ पुसमा २ हजार ६५६ जना सक्रिय संक्रमित थिए भने २२ पुसमा २ हजार ८३३, २३ पुसमा ३ हजार ९०, २४ पुसमा ३ हजार ५१२, २५ पुसमा ४ हजार ४५, २६ पुसमा ४ हजार ८३९, २७ पुसमा ६ हजार १७२, २८ पुसमा ७ हजार ८८१, २९ पुसमा ९ हजार ९२७, ३० पुसमा १२ हजार ८५० जना सक्रिय संक्रमित छन् ।

 

बागमती प्रदेशमा कोरोना भाइरसका अधिकांश सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कुल सक्रिय संक्रमितमध्ये १४ हजार बढी होम आइसोलेसन बसेका छन् ।


कुल १५ हजार ३३८ जना सक्रिय संक्रमितमध्ये १४ हजार ७०३ जना होम आइसोलेसनमा बसेका छन् । अन्य संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत छन् ।


मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ६३३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् भने जनरल आइसोलेसनमा २२८, एचडीयूमा ३१४, आइसीयूमा ७५ र भेन्टिलेटरमा १६ जना छन् ।