close

सिन्धुलीमाढीको कोभिड अस्पताल पुनः सञ्चालनमा 

सिन्धुलीमाढीको कोभिड अस्पताल पुनः सञ्चालनमा 

Trulli
ADVERTISEMENT

सिन्धुली–बजेट अभावका कारण दुई महिनादेखि बन्द अवस्थामा रहेको सिन्धुली सदरमुकाम सिन्धुलीमाढीस्थित कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ ।


गत १ मंसिरदेखि बन्द अवस्थामा रहेको सिन्धुली अस्पताल मातहतको सो अस्पताल कोरोना संक्रमण जोखिम बढ्दै गएपछि १ माघदेखि पुनः सञ्चालनमा ल्याइएको हो । 
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट व्यवस्था गरेपछि करारमा कर्मचारी राखेर अस्पताललाई सञ्चालनमा ल्याएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘कार्यरत कर्मचारीलाई तलब दिन नसकेर २ महिनाअघि उक्त अस्पताल बन्द भएको थियो । अहिले सामाजिक विकास मन्त्रालयले करारमा कर्मचारी राख्न मिल्ने भनेर बजेट पठाएको छ । पहिले काम गरेका कर्मचारीलाई बोलाएर करारमा तीन महिनाका लागि भर्ना गरी अहिले अस्पताल सञ्चालनमा ल्याइएको छ ।’

सबै किसिमका गरी अहिले ९ कर्मचारी कार्यरत रहेको उनले बताए ।

उनका अनुसार दुई महिनाअघि तलब खुवाउन नसकेपछि कार्यरत ४९ जना स्वास्थ्यकर्मीलगायत कर्मचारीलाई बिदा गरी अस्पताल बन्द गरिएको थियो । 
स्थानीय तह, राजनीतिक दल, प्रशासन, नेपाली सेना, रेडक्रसकर्मीलगायतको सक्रियतामा झन्डै ३ करोड रुपैयाँ लगानीमा उक्त अस्पताल निर्माण गरी एक वर्षअघि सञ्चालनका लागि सिन्धुली अस्पताललाई जिम्मा दिइएको थियो ।
सिन्धुलीमा पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै गत वैशाखदेखि सिन्धुली अस्पतालको युनिटका रूपमा रहने गरी ५० शय्याको उक्त कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । 
दोस्रो लहरको कोरोना लहरयता अस्पतालबाट कोरोना संक्रमित ३१४ जनाले सेवा लिएका थिए । यीमध्ये २४६ जना स्वस्थ भएर डिस्चार्ज भएका थिए भने ३९ जनालाई बाहिर रिफर गरिएको र २९ जनाको मृत्यु भएको थियो ।

अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । अस्पतालका अध्यक्ष प्रल्हाद पोख्रेलले भने, ‘कर्मचारी व्यवस्थापन गर्न नसक्दा अक्सिजन प्लान्ट पनि कति दिन चल्ने हो, अहिलेसम्म २ करोड रुपैयाँ खर्च भइसकेको छ ।’
बागतमी प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्न छुट्याएको ६० लाख रुपैयाँ बजेट गत कात्तिकबाट समाप्त भएपछि अस्पताल बन्द भएको थियो ।

जिल्लामा अहिले सक्रिय कोरोना संक्रमित ८ जना रहेकामा होम आइसोलेसनमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।