close

कालीकोटका सिडिओ संक्रमित भएपछि प्रशासनिक सेवा अवरुद्ध

कालीकोटका सिडिओ संक्रमित भएपछि प्रशासनिक सेवा अवरुद्ध

Trulli
ADVERTISEMENT

जुम्ला– जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारीलगायत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि सबै खाले प्रशासनिक सेवा बन्द गरिएको छ ।

 

कार्यालय प्रमुखसहित अन्य कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि एक साताका लागि कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको हो । 

 

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलगायतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । 

 

जिल्लाका धेरै कार्यक्रममा सहभागी हुँदा स्वास्थ्यमा असहज भई टन्सिल भएपछि परीक्षण गराउँदा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । अन्य कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएकाले कार्यालयबाट प्रवाह हुने सेवा एक साताका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

 

कालीकोटमा संक्रमण बढ्दो 

 

कालीकोटमा कोभिड– १९ को संक्रमण दर बढ्दो क्रममा रहेको छ । राजनीतिक दलका भेला, सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड संक्रमण बढेको हो ।

 

कोभिड संक्रमण देखिएका सबै राजनीतिक दलका कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत गौराकुमारी घर्तीमगरका अनुसार तेस्रो लहरको कोरोनाबाट कालीकोटमा ७१ जना संक्रमित भएका छन् ।

 

जिल्लामा कोभिड संक्रमण तीव्र रूपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए । उनले भने, ‘विगतको तुलनामा तेस्रो चरणको कोभिड लहरले भयावह रूप लिएको छ ।’

 

कोभिडका संक्रमित विभिन्न होम आइसोलेसनमा रहेको निमित्त प्रमुख महतले बताए ।  जिल्लामा हालसम्म कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको संख्या ८१ हजार १ सय ८१ जना रहेको र ४६ हजार ३ सय १३ जनाले दोस्रो डोज लगाएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको तथ्यांकमा उल्लेख छ । 

 

हालसम्म कालीकोटमा कुल जनसंख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसंख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो डोज लगाएको स्वास्थ्य कार्यलय कालीकोटले जनाएको छ । 

 

कर्मचारी संक्रमति भएपछि बैंकिङ सेवा प्रभावित

 

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । आइतबार बैंकका कर्मचारीमा कोराना पुष्टि भएकाले सोमबारदेखि बैंकिङ सेवा अवरुद्ध भएको हो ।

 

बैंकमा कार्यरत १८ कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टि भएको हो । १० कर्मचारीमध्ये १ जनामा गम्भीर लक्षण देखिएको र बाँकी ९ कर्मचारी होम आइसोलेसनमा रहेको बैंकका प्रमुख लीलाराम ढुंगानाले बताए ।

 

‘१ जना सुरक्षार्थ खटिने सुरक्षागार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ,’ उनले भने, ‘४ दिनका लागि बैंकिङ सेवा बन्द गरेका छौँ ।’