close

गोदावरी नगरपालिकामा बढ्दै कोरोना संक्रमित

गोदावरी नगरपालिकामा बढ्दै कोरोना संक्रमित

Trulli
ADVERTISEMENT

कैलाली–कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । नगरपालिकामा पछिल्लो ७ महिनायताकै धेरै संक्रमित माघ पहिलो सातामै फेला परिसकेका छन् ।

 

जेठमा नगरपालिकामा ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको थियो । असारदेखि संक्रमितको संख्या घट्दै गए पनि पुस अन्तिम साताबाट संख्या बढ्दै गएको छ ।

 

गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो १ सातामा मात्रै नगरपालिकामा ६३ कोरोना संक्रमित थपिएका छन् । यसमा पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ३३ र एन्टिजेनबाट गरिएको परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।

 

एन्टिजेन विधिबाट नगरपालिका कार्यालय परिसरमै ६० जनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो भने पिसिआर विधिबाट थपिएका संक्रमितको तथ्यांक सेती प्रादेशिक अस्पतालबाट उपलब्ध भएको जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार बुधबार मात्रै एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

 

सीमाबाट आउनेको तथ्यांक राखिँदैन

 

स्वास्थ्य शाखा आफंैले परीक्षण गरेका र सेतीबाट आएकाको तथ्यांक राखे पनि सीमानाकाबाट कति संक्रमित आए भन्ने तथ्यांक राख्ने गरिएको छैन ।

 

स्वास्थ्य शाखा प्रमुख अवस्थीले सीमाबाट आएकाको विवरण र संक्रमितको विवरण नराखेको बताए । ‘संक्रमित भए सीमामै होल्डिङ सेन्टरमा राखिन्छ । कुनै स्वदेश फर्किए पनि वडाको सिफारिस होला’, उनले भने, ‘वडाले आउन सिफारिस दिएको भए भारतबाट आएका संक्रमित होम आइसोलेसनमा बसेका होलान् । त्यसबारे वडामै बुझ्नुपर्छ ।’

 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्ने हो भने हाल प्रदेशमा थपिएका संक्रमितमध्ये आधा बढी भारतबाट आएका संक्रमित भएकाले गोदावरीमा नगरपालिकाले राखेको तथ्यांकभन्दा निकै बढी संक्रमित हुन सक्ने देखिन्छ ।

 

पहिलो र दोेस्रो लहरको कोरोना संक्रमणका क्रममा नगरपालिकाले भारतबाट आएकालाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने गरेको थियो । तर, यसपटक भने तथ्यांकसमेत नराखिँदा संक्रमण समुदायमा फैलने खतरा बढेको छ । 

 

स्वास्थ्य शाखा प्रमुख अवस्थीले हाल मालाखेतीमा पहिलेदेखि रहेको १५ बेडको आइसोलेसनबाहेक अन्य ठाउँमा संक्रमित वा बिरामी राख्ने कुनै ठाउँ नबनाइएको बताए ।

 

हाल नगरपालिकामा देखिएका संक्रमितमा कुनै पनि जटिल समस्या नदेखिएकाले मालाखेतीमा भएको आइसोलेसन पनि खाली रहेको र संक्रमित भएका सबै होम आइसोलेसनमा बसेको उनले जानकारी दिए ।

 

४२ हजार बढीले लगाए पूर्ण खोप

 

नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार हालसम्म नगरभित्र रहेका झन्डै ४२ हजार बढी नागरिकले पुर्ण खोप पाइसकेका छन् । स्वास्थ्य शाखा प्रमुख अवस्थीले १८ वर्ष उमेरमाथिका ४२ हजार ९ सय ८४ जनाले कोरोना खोपको दुवै मात्रा लगाएको बताए ।

 

त्यस्तै, खोपको पहिलो मात्रा मात्रै लगाएका नागरिकको संख्या ३ हजार १ सय ७९ छ । नियमित खोप कार्यक्रम हाल पनि जारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत बुस्टर डोज (कोभिसिल्ड) लगाउन सुरु गरेको छ । असारभित्र खोपको दुवै मात्रा लगाएकालाई बुस्टर डोज दिन थालिएको हो ।

 

बुस्टर डोजमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, सुरक्षाकर्मी, सरसफाइकर्मी र असारसम्म दोस्रो डोज लगाएका ज्येष्ठ नागरिकलाई समिटिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । नगरपालिकाले १ हजार १ सय २० जनालाई बुस्टर डोज लगाउने योजना रहेको उनले जानकारी दिए । बुस्टर डोज १३ माघसम्म लगाइनेछ ।

 

गोदावरीभित्र रहेको सशस्त्र प्रहरी वाहिनी र नेपाली सेनाका लागि भने छुट्टै बुस्टर डोज व्यवस्था गरिएको छ । नगरपालिकाले मालाखेती अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरे पनि अन्य स्वास्थ्य केन्द्रबाट पनि लगाइने जनाइएको छ ।