close

कैलालीमा बढे रुघाखोकी र ज्वरोका बिरामी

कैलालीमा बढे रुघाखोकी र ज्वरोका बिरामी

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीमा सातायता राम्ररी घाम नलागेपछि चिसो बढेको छ । तराईका जिल्लामा केही दिनयता कुहिरो लागेको
छ । कुहिरोले घाम नलाग्दा चिसो बढेको हो । घाम नलाग्दा यस क्षेत्रमा न्यूनतम तापक्रम सामान्य रहे पनि अधिकतम तापक्रम बढ्न नसक्दा चिसो बढेको मौसमविज्ञले बताए ।

 

अत्तरिया क्षेत्रको तापक्रम मापन गर्दै आएको महाकाली बेसिस फिल्ड कार्यालयका अनुसार पछिल्लो १ साताको न्यूनतम तापक्रम करिब १० डिग्री सेल्सियस हाराहारी छ भने अधिकतम तापक्रम १६ डिग्री सेल्सियस छ ।

 

महाकाली बेसिस फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार अत्तरिया क्षेत्रमा बिहीबारको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

 

पछिल्लो १ साताको विवरणअनुसार शुक्रबार अत्तरिया क्षेत्रको अधिकतम तापक्रम १५ दशमलव ५ र न्यूनतम तापक्रम ५ दशमलव ७, शनिबार अधिकतम १४ दशमलव ६ र न्यूनतम १० दशमलव ८, आइतबार अधिकतम १४ दशमलव ५ र न्यूनतम १० दशमलव ५, सोमबार अधिकतम १५ र न्यूनतम १० दशमलव ५, मंगलबार अधिकतम १३ दशमलव ४ र न्यूनतम ८ दशमलव ८, बुधबार १२ दशमलव ८ र न्यूनतम १० दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

 

पछिल्लो ३ दिनयता न्यूनतम तापक्रम स्थिर रहे पनि अधिकतम तापक्रममा गिरावट आउँदा चिसो महसुस गरिएको मौसम विज्ञान सहायक चौधरीले बताए ।

 

रुघाखोकीका बिरामी बढे

 

चिसो बढेसँगै यस क्षेत्रका अस्पतालका रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । चिसोका कारण कैलालीको गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामी बढेका हुन् ।

 

अस्पतालका जनस्वास्थ्य निरीक्षक महेशदत्त पाण्डेले चिसो बढेपछि रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको जानकारी दिए । हाल अस्पतालमा दैनिक ७० देखि ८० बिरामी आउने गरेकामा त्यसमध्ये २५ देखि ३० जना बिरामी रुघाखोकीका हुने गरेको उनले बताए ।

 

‘रुघाखोकीका बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण पनि देखिने गरेका छन्,’ उनले भने, ‘लक्षण देखिएका बिरामीलाई हामीले स्वाब संकलनका लागि नगरपालिकामा पठाउने गरेका छौँ ।’

 

अस्पतालमा हाल कोरोना संक्रमितका लागि १५ बेडको आइसोलेसन भए पनि स्वाब संकलन र एन्टिजेन परीक्षणका लागि नगरपालिका पठाउने गरिएको छ । प्रदेशकै ठूलो अस्पताल सेतीमा पनि चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् ।

 

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले दैनिक साढे ३ सयदेखि ४ सय हाराहारी बिरामी अस्पतालमा आउने गरेको बताए । सामान्य समय अस्पतालमा २ सयदेखि साढे दुई सयको संख्यामा बिरामी आउने गरेको उनको भनाइ छ । बिरामी बढ्नुको कारण चिसो बढेकाले हुन सक्ने उनले बताए ।