close

मधेस प्रदेशमा कोरोना संक्रमण बढ्दै : कुन जिल्लामा कति संक्रमित ? 

सीमामा छैन होल्डिङ्ग सेन्टर

मधेस प्रदेशमा कोरोना संक्रमण बढ्दै : कुन जिल्लामा कति संक्रमित ? 

सीमामा छैन होल्डिङ्ग सेन्टर

Trulli
ADVERTISEMENT

जनकपुर–  मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ ।

 

जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको उपचारका लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले सञ्चालनमा ल्याएको एक सय शैयाको कोभिड विशेष अस्पतालमा भेन्टिलेटर र आइसीयू २०/२० बेडको व्यवस्था रहेको प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहले जानकारी दिए । तर, संक्रमितको संख्या अत्यधिक रहेको भए पनि अस्पतालमा बिरामी नहुँदा अन्य बिरामीलाई राखेर उपचार सेवा दिइरहेको उनले बताए । कहिलेकाँही एक÷दुई जना संक्रमित बिरामी भर्ना हुन्छ, निको भएर गएपछि प्रायः खाली नै छ, उनले भने ।

 

दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत कोभिड विशेष अस्पतालमा जडान गरिएको उनले भने, थप अक्सिजन प्लान्ट जडानको तयारी गरिरहेका छौं । बिरामीको चाप नभए पनि आवश्यक स्वास्थ्यकर्मी जनशक्तिसहित तयारी अवस्थामा छौँ । सो प्रतिष्ठानले अघिल्लो कोरोना कहरताका पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

 

 तीन गुणाले संक्रमित वृद्धि

 

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार यस प्रदेशमा पछिल्लो एकसाता यता कोरोना संक्रमितको बिरामी तीन गुणाले बढेको छ । प्रदेशका जिल्लाहरुमा पछिल्लो छ दिनमा सक्रिय संक्रमितको संख्या तेब्बर भएको छ । गत माघ १ गते ४४१ जना कोरोनाका सक्रिय संक्रमित बिरामी थिए भने ६ गते रातिसम्ममा सो संख्या १२ सय ११ पुगेको छ । गत १ गते सक्रिय संक्रमित संख्या ४४१, २ गते ५५४, ३ गते ७००, ४ गते ८९०, ५ गते १०१६ र ६ गते १२११ संक्रमित संख्या रहेको सो निर्देशनालयले जनाएको छ ।

 

गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १३५ वटा पीसीआर परीक्षणमा ६३ जना नयाँ र चार जना कोरोना पुष्टीभएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए । यस्तै, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३३ जनाको पीसीआरमा ३० जना, लहान अस्पताल सिरहामा पीसीआर परीक्षणमा ११ जना, जलेश्वर अस्पतालमा २० जनाको पीसीआरमा नौ जना, मलंगवा अस्पताल सर्लाहीमा ४२ जनाको पीसीआरमा २४ जना, छ जनाको एन्टिजेनमा एक जना, गौर अस्पताल रौतहटमा २२ जनाको पीसीआरमा १०, नारायणी अस्पताल वीरगंजमा ८६ जनाको पीसीआरमा ५९ जनामा कोरोना संक्रमण अर्थात पोजेटिभ भेटिएको निर्देशक झाले जानकारी दिए ।

 

प्रदेशअन्तर्गत हालसम्म पर्सामा २८२ बारामा ८८, रौतहटमा ५३, सर्लाही ९७, महोत्तरीमा ९९, धनुषामा ३४७, सिरहा ८७ र सप्तरीमा १५३ जना सक्रिय संक्रमित रहेको निर्देशक झाले जानकारी दिनुभयो । संक्रमितमध्ये दुई जना पर्सा स्थित अस्पतालका आइसीयू, सिरहा अस्पतालमा दुई र सप्तरी अस्पतालमा दुई जना एचडीयुमा उपचारत रहेको उनले बाँकी संक्रमित होम आइसोलेसनमा रहेको बताए ।

 

प्रदेशमा अहिले सम्ममा ४४६ जना निको भएर डिसचार्ज भएको छ भने एक जनाको संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट सप्तरी १५७, सिराहा १३४, धनुषा १३२, महोत्तरी ९१, सर्लाही ९३, रौतहट १२८, बारा १७६, पर्सा १३०, भारतीय एक जना गरी कूल १०४२ जनाको मृत्यु भएको छ । मृतकमध्ये पुरुष ७५८ र महिला २८४ छन् ।

 

सीमामा छैन होल्डिङ्ग सेन्टर

 

प्रदेशका कुनै पनि जिल्लाको सीमा नाकामा हालसम्म होल्डिङ्ग सेन्टर स्थापना गरिएको छैन । पूर्वमा सप्तरी र पश्चिममा पर्सासम्म ४६४ किलोमिटर भारतसँग खुला सीमा छ । यस प्रदेशका बाराबाहेकका ३३ वटा भन्सार कार्यालय, ४१४ किमी मुख्य सडक, २२९ किमी बाटो र करिब ५५७ स्थानका गल्लीबाट नेपाल–भारत आवतजावत हुने गरेको छ । भारतबाट भित्रिने नागरिकलाई सीमामा स्वास्थ्य जाँचको लागि मात्र चार वटा हेल्थ डेस्क स्थापना गरिएको छ । भारतमा तीव्र रुपमा फैलिएको कोरोनाको डरले घर फर्किरहेका नेपाली नागरिकको सीमामा स्वास्थ्य जाँच राम्ररी भइनरहेको सहजै अनुमान गर्न सकिन्छ ।

 

प्रदेशमा वीरगञ्जको इनर्वा, गौर, महोत्तरीको भिठठामोड र सिराहाको माडर नाका गरी चार स्थानमा हेल्थ सेन्टर मात्र स्थापना गरी स्वास्थ्य जाँच भइरहेको स्वास्थ्य निर्देशक झाले बताए । सप्तरीको बेलही, धनुषाको जटही, महोत्तरीको मटिहानी र सर्लाहीको मलङगवामा हेल्थ सेन्टर स्थापनाको तयारी भइरहेको जानकारी दिए  । सीमामा भइरहेको एन्टिजेन परीक्षणमा पोजेटिभ भेटिएमा उत्तै फर्काउने गरेको उनले जानकारी दिए ।