close

सिटामोल अभाव भएपछि औषधी पसल अनुगमनमा निस्कियो जुम्ला प्रशासन

जुम्ला बजारमा २६ हजार ट्याब्लेट सिटामोल 

सिटामोल अभाव भएपछि औषधी पसल अनुगमनमा निस्कियो जुम्ला प्रशासन

जुम्ला बजारमा २६ हजार ट्याब्लेट सिटामोल 

Trulli
ADVERTISEMENT

जुम्ला–देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । जुम्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले जुम्ला बजारका मेडिकल तथा फार्मेसीमा अनुगमन गर्दा २६ हजार ट्याब्लेट सिटामोल भेटिएको छ । 

 

भविष्य मेडिकलमा ५ सय ट्याब्लेट, विश्वास मेडिकलमा १ हजार ट्याब्लेट, ओम मनीष पोलिक्लिनिकमा ५ सय ट्याब्लेट, रावत मेडिकलमा १ हजार ट्याब्लेट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निःशुल्क औषधी वितरण क्लिनिकमा २० हजार ट्याब्लेट, जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा २ हजार ५ सय ट्याब्लेट र कर्णाली मेडिकलमा ५ सय गरी २६ हजार ट्याब्लेट सिटामोल भेटिएको हो । 


भविष्य मेडिकलमा डिकोल्ड १ हजार ट्याब्लेट, राइनोसमा १ हजार ५ सय ट्याब्लेट, साइनोसमा २ सय ट्याब्लेट, विश्वास मेडिकलमा डिकोल्ड ५ सय ट्याब्लेट, साइनोसमा ५ सय ट्याब्लेट, ओम मनीष पोलिक्लिनिकमा डिकोल्ड ५ सय ट्याब्लेट, रावत मेडिकलमा डिकोल्ड १ हजार ६८० ट्याब्लेट, शिवमेडिकलमा डिकोल्ड ३० कार्टुन अनुगमनका क्रममा भेटिएको थियो । 


रुघाखोकीका बिरामी बढेकाले जुम्ला बजारका हरेक मेडिकलमा दैनिक १५÷२० जनाले सिटामोल र डिकोल्ड किन्न आउने गरेको भविष्य मेडिकल हलका हरिबहादुर रावलले बताए । उनले भने, ‘अहिले सिटामोल कम छ । सिटामोल उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य बढेकाले उत्पादक कम्पनीले उत्पादन गर्न छाडेका छन् ।’

 

शिव मेडिकल हलका पूर्ण बुढ्थापाका अनुसार २ लाख ट्याब्लेट सिटामोल माग गरिएको छ । ‘२÷४ दिनमा आइपुग्छ । सिटामोल धेरै कम्पनीले उत्पादन गर्न छाडेपछि बजारमा अभाव देखिएको हो’, उनले भने । जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा २ हजार ५ सय ट्याप्लेट मौज्दात छ । स्टोर प्रमुख हरि बुढाले भने, ‘१५ हजार ट्याब्लेट यहाँका ८ वटै स्थानीय तहमा पठाएका छौँ । जुम्लामा खासै सिटामोल अभाव छैन ।’ 

 

प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड छैन 


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको फार्मेसीमा सिटामोल र डिकोल्ड अनुगमनका क्रममा नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताइन् । उनले भनिन्, ‘प्रतिष्ठानले निःशुल्क औषधी वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भए पनि फार्मेसीमा भने सिटामोल र डिकोल्ड भेटिएन । फार्मेसीमा अहिले सिटामोल र डिकोल्ड नभए पनि खरिद गरिएको औषधी चाँडै आउने जानकारी पायौँ ।’ 

 

यहाँका प्रत्येक मेडिकल, अस्पतालका फार्मेसी र जनस्वास्थ्य कार्यालयका स्टोर अनुगमन गरिएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘तत्काल सिटामोल अभाव देखिएन । तर, औषधी थप नमगाए र संक्रमण बढ्दै गए अभाव हुने देखिन्छ । सबै मेडिकल र फार्मेसीलाई भनेका छौँ ।’ 

 

सुर्खेतमा २ हजार ८३० ट्याब्लेट मात्रै सिटामोल 


संक्रमण दर बढ्दै जाँदा बजारमा औषधीलगायत मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ । यही अवस्थालाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधी सप्लायर्स पसलको आकस्मिक अनुगमन गरेको थियो । 


सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईं नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसिन डिस्ट्रिब्युटर एन्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधी सप्लायर्सका पसल अनुगमन गरेको हो । अनुगमनका क्रममा सिटामोल अभाव भएको पाइएको चौलागाईंले बताए । 


‘अनुगमन गर्दा राम मेडिसिन डिस्ट्रिब्युटर एन्ड सजिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्रान्डको औषधी नै भेटिएन’, प्रशासकीय अधिकृत चौलागाईंले भने, ‘दुवै सप्लायर्समा मात्र कोडोपार ब्रान्डको औषधी छ, जुन सिटामोलको मूल्यभन्दा ५ रुपैयाँ बढी पर्छ ।’ 

 

सिनर्जी फार्मेसीमा भने २८३ स्टिम अर्थात् २ हजार ८३० ट्याब्लेट सिटामोल पाइएको उनले जानकारी दिए । केडी फार्मेसीका प्रोप्राइटर दानबहादुर रोकायाले सिटामोल बजारमा प्रतिट्याब्लेटको मूल्य १ हुँदा कोडोपार ६/७ रुपैयाँमा बिक्री हुने गरेको बताए । मिश्रित आइटमले कोडोपार अलि बढी मूल्य तर सिटामोल कम मूल्यको भएकाले मूल्यकै कारण उत्पादक कम्पनीले बजारमा सिटामोल अभाव बढाएको प्रोप्राइटर रोकायाले दाबी गरे ।

 

‘कोडोपारमा प्यारासिटामोल र कोडिन फस्टेड मिश्रित हुन्छ’, उनले भने, ‘सामान्यतः ज्वरो आउँदा, टाउको दुख्दा यही औषधी प्रयोग गरिन्छ ।’ प्रोप्राइटर रोकायाका अनुसार सिटामोल ब्रान्डको औषधी कोरोनाको दोस्रो लहरबाट आउन छाडेको छ । सिनर्जी फार्मेसीका सुपरभाइजर सुमन केसीले आफूहरूसँग थौरै मात्रामा सिटामोल ब्रान्डको औषधी भएको र पछिल्लो समय कम्पनीबाट आउन छाडेको बताए । 


औषधी सप्लायर्ससँग सिटामोल नहुनुले कर्णालीमा अभाव देखिएको छ । सिटामोल अभावले उपभोक्ता एवं बिरामी ६ गुणा बढी रुपैयाँ तिरेर कोडोपार औषधी किन्न बाध्य छन् । बजारमा औषधीको मौज्दात, बिक्री अवस्था के छ र सिटामोल नआउनुको कारण के हो भन्ने जानकारी लिन अनुगमन गरिएको प्रशासकीय अधिकृत चौलागाईंले बताए ।

 

उनका अनुसार यही अवस्थालाई आधार बनाएर अब सरोकारवालाबीच समीक्षा र तेस्रो लहरको कोरोना महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण योजना निर्माण गरिने उनको भनाइ छ ।