close

जुम्लामा १७ जनामा कोरोना परीक्षण गर्दा १५ संक्रमित 

जुम्लामा १७ जनामा कोरोना परीक्षण गर्दा १५ संक्रमित 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा १७ जनामा कोरोना परीक्षण गर्दा १५ संक्रमित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक चिकित्सक राजीव शाहसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


तेस्रो लहरको कोरोना संक्रमणमा हालसम्म २५ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले बताइन् । उनले भनिन्, ‘यसमध्ये २ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । बाँकी २३ जनाको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा छन् ।’  १७ जनाको परीक्षण गर्दा १५ जनालाई संक्रमण देखिनु जुम्ला पनि हाइरिक्समै रहेको पुष्टि हुने उनको भनाइ छ ।


जुम्लामा संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । यसमध्ये ४ सय ६३ जनामा संक्रमण देखिएको थियो ।

 

दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए । 


जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेका छन् ।