close

उदयपुर जिल्ला अस्पतालमा भेन्टिलेरसहितको आईसियु सञ्चालन हुँदै

उदयपुर जिल्ला अस्पतालमा भेन्टिलेरसहितको आईसियु सञ्चालन हुँदै

Trulli
ADVERTISEMENT

उदयपुर– जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको आईसियुसहितको भेन्टिलेटर सञ्चालनको तयारी भएको छ । कोभिड दोस्रो भेरियन्टको समय स्थापना गरिएको आईसियुसहितको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको थिएन । 

 

आईसियु तथा भेन्टिलेटर एनेसथेसियलिस्ट विशेषज्ञ चिकित्सक चाहिने भएकाले सञ्चालनमा आउन सकेको थिए । दोस्रो भेरियन्टबाट कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खाले बिरामीको उपचार जिल्लामै गर्ने योजनासहित गत वर्ष उदयपुर अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा दिन जडान गरिएको थियो ।

 

त्यसबेला रातारात गरेको तयारी जनशक्ति अभावका कारण कार्यान्वयनमा आउन सकेको थिएन । आईसियु र भेन्टिलेटर जडान गरेको डेढ वर्षपछि आवश्यक जनशक्ति सरुवा भई आएपछि आईसियु सञ्चालन हुने भएको हो । जटिल खाले कोभिड संक्रमित बिरामीलाई विराटनगर, धरान र काठमाडौं रिफर गर्दा समस्या हुने र भनेको समय बेड नपाइने हुँदा जिल्लामै आईसियु र भेन्टिलेटर सुविधा सञ्चालन गर्न लागिएको हो ।

 

प्रदेश १ सरकारको १ करोड रुपैयाँ बजेटबाट आवश्यक सामग्री खरिद गरी अस्पतालमा आईसियु र भेन्टिलेटरका उपकरण जडान गरिए पनि पटक–पटक प्रयास गर्दासमेत दक्ष जनशक्ति ल्याउन नसक्दा यन्त्र उपकरण सबै थन्किएका थिए । अस्पतालमा केही दिनअघि मात्र दक्ष जनशक्ति आएपछि आईसियु सेवा सुरु गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुकेश झाले जानकारी दिए ।

 

डा. झासहित १० जना विशेषज्ञ (कन्सल्टेन्ट) भर्खरै अस्पतालमा सरुवा भएर आएपछि आईसियु र भेन्टिलेटर सञ्चालनको तयारी थालेका हुन् । १० वर्षअघि ५० शैय्यामा स्तरोन्नति गरिएको अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक थिएनन् । विशेषज्ञ डा. दरबन्दी रहे पनि मन्त्रालयले सरुवा नपठाउँदा अस्पतालले क्षमताअनुसारको सेवा दिन सकेको थिएन । 


अस्पतालमा रहेको आईसियु र भेन्टिलेटर सेवा सञ्चालन तयारी तीव्र पारिएको छ । त्यसका लागि कोठा अभाव र केही उपकरण जडान गर्न बाँकी रहेकाले तत्काललाई बजेट व्यवस्थापनसँगै सेवा सुरु गर्ने तयारी छ । आवश्यक बजेटका लागि अस्पतालले प्रदेश सरकारसमक्ष माग गरी पठाएको बताएको छ ।