close

उदयपुर प्रहरीले थाल्यो निःशुल्क मास्क वितरण अभियान

उदयपुर प्रहरीले थाल्यो निःशुल्क मास्क वितरण अभियान

Trulli
ADVERTISEMENT

उदयपुर–  जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना महामारी संक्रमण फैलिन थालेपछि मास्क वितरण थालेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर माताहतका ३८ वटै प्रहरी युनिटबाट मास्क वितरण गरिन लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

जिल्लाभर मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरिँदै आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । जिल्ला प्रहरीले आफनै स्रोतबाट सर्वसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । ‘नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौँ’, प्रनाउ गौतमले भने, ‘मास्क वितरणसँगै स्वास्थ्य मापदण्ड अपनाउन सचेतना फैलाएका छौँ ।’

 

जिल्ला प्रहरी कार्यालय, ७ वटा इलाका प्रहरी, १ नगर प्रहरी, १६ प्रहरी चौकी र अस्थायी प्रहरी चौकीबाट सर्वसाधारणलाई मास्क वितरण गरिएको हो । प्रहरीले जिल्लाका मुख्य व्यापारिक केन्द्र गाईघाट, कटारी, बेल्टार, मुर्कुचीमा सर्वसाधारणलाई मास्क वितरण गरिरहेका छन् । बजार क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत विभिन्न युनिटले मास्क वितरण गर्न थालेका छन् ।

 

प्रहरीले मास्क वितरणसँगै कोरोनाविरुद्ध सचेत रहन नागरिकलाई आग्रह गर्दै आएको छ । बजार क्षेत्र र समुदायमा सर्वसाधारणले मास्क प्रयोग नगर्ने, भौतिक दूरी कायम नगर्ने, स्यानिटाइजर प्रयोग नगर्ने, साबुनपानीले हात नधुनेजस्ता लापर्वाही अधिक देखिएको प्रनाउ गौतमले बताए । प्रहरीले सचेत गराउँदा पनि अटेर गरे कारबाही गरिने जनाएको छ ।

 

गाईघाट बजारको मुख्य चोक आसपास खटिएका प्रहरीले पैदल यात्रु तथा सवारीमा चढेका यात्रुलाई रोकेर मास्क प्रयोग गर्न सम्झाउनुका साथै नभएकालाई वितरणसमेत गरिरहेका छन् ।