close

कोरोनाले घटायो विदेश जानेको संख्या 

कोरोनाले घटायो विदेश जानेको संख्या 

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना महामारीका कारण पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको संख्या घटेको छ । श्रम गन्तव्य देशमा कोरोना संक्रमण दर बढेसँगै नेपाली श्रमिक रोजगारका लागि जान नपाएका हुन् ।

 

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको संख्या मंसिरको तुलनामा पुसमा साढे १० हजारले घटेको हो । मंसिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुसमा ६३ हजार ८२५ जना मात्रै छन् ।

 


कोरोना संक्रमणका कारण गत फागुुनदेखि वैशाखसम्म ठप्पजस्तै भएको वैदेशिक रोजगारले असारदेखि गति लिन थालेको थियो । तर, पुनः कोरोना महामारीको नयाँ लहर आएपछि भने घट्न थालेको हो ।

 

विभागका अनुसार चालू आर्थिक वर्ष ०७८÷७९ को पहिलो ६ महिनामा २ लाख ९७ हजार ४०८ जनाले ९७ देशमा जान श्रम स्वीकृति लिएका छन् । साउनदेखि मंसिरसम्मको तथ्यांक हेर्दा श्रम स्वीकृति लिनेको संख्या बढदै गएको र पुसमा घटेको पाइएको छ ।

 

विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा धेरै मंसिरमा ७४ हजार ३५४ र सबैभन्दा कम साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएका छन् ।

 

यसैगरी पुसमा ६३ हजार ८२५, कात्तिकमा ५४ हजार ११८, असोजमा ३९ हजार ६७१ र भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

 

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले गत असारदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या क्रमशः बढेकामा पुसमा कोरोना संक्रमण बढेसँगै श्रम स्वीकृति लिनेको संख्या पनि घट्न थालेको बताए ।

 

पछिल्लो पटक नेपाल र नेपालीका श्रम गन्तव्य देशमा नयाँ भेरियन्टको कोरोनाको संख्या बढेकाले माघमा यसको संख्या अझै घट्ने उनको भनाइ छ ।


विभागका अनुसार पछिल्लो महिना व्यक्तिगतभन्दा संस्थागत रूपमा श्रम स्वीकृति लिएर जानेको संख्या बढेको छ । पुसमा ६३ हजार ८२५ ले श्रम स्वीकृति लिएकामा महिनामा ३३ हजार २२५ जनाले संस्थागत श्रम स्वीकृति लिएका छन् भने ३० हजार ६०० जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् ।


मंसिरमा ७४ हजार ३५४ ले श्रम स्वीकृति लिएकामा संस्थागत रूपमा ३१ हजारले मात्रै लिएका थिए भने ३९ हजार ३५४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

 

विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालीको प्रमुख गन्तव्य साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । पछिल्लो ६ महिनामा साउदी अरब र कतारमा १÷१ लाख रोजगारीका लागि श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । 

 

यस्तै, यूएईमा पछिल्लो ६ महिनामा ५८ हजार ११४ नेपाली कामदार रोजगारका लागि गएका छन् । ओमान, कुवेत, मालदिभ्स, रोमानिया, साइप्रस, बहराइनसहितका ९८ देशमा श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।