close

सिडिओमार्फत स्वास्थ्यकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

सिडिओमार्फत स्वास्थ्यकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

Trulli
ADVERTISEMENT

जुम्ला–राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति जुम्लाले प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । 

 

सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग राख्दै कोभिड संकट व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

स्वास्थ्य बिमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावत तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ जुम्लाका अध्यक्ष गणेश नेपालीमार्फत बुझाइएको ज्ञापनपत्रमा सरकारले कोभिडविरुद्धको महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि उपलब्ध नगराएको बताइएको छ ।

 

स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री र निःशुल्क पिसिआर परीक्षण व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

 

यस्तै, खोप केन्द्रमा देखिएको भीडभाड नियन्त्रणका लागि पर्याप्त मात्रामा स्वयंसेवक तथा सुरक्षाकर्मीको परिचालन व्यवस्था गर्न, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भीडभाड, तोडफोड र हातपात गर्नेलाई कारबाहीसँगै पीडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपूर्ति व्यवस्थालगायत माग गरेका छन् । 

 

कोरोना समुदाय स्तरमा फैलिसकेकाले संवेदनशील हुन प्रधानमन्त्री देउवालाई संघले अपिल गरेको छ । ज्ञापनपत्रमा संघसँग सम्बन्धित विषय समेटिएका १५ बुँदे विभिन्न माग पेस गरिएको छ । 

 

कोभिड संकट व्यवस्थापन समिति जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम र पारिश्रमिक तुरुन्त उपलब्ध गराइयोस् । कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि नदिइएकाले तुरुन्तै उपलब्ध गराइयोस् ।’ 

 

आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै संघले सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानमा कार्यरत सबै खालका स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको हो ।

 

तोकिएको सेवा–सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याउन संघले सरकारसमक्ष आग्रह गरेको छ ।

 

संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि उचित आइसोलेसन व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधोपचार व्यवस्था गर्न, सम्पूर्ण स्वास्थ्यकर्मी र अग्रस्थानमा खटिने कर्मचारीको यथाशीघ्र बिमा व्यवस्था गर्न माग गरेको छ ।