close

कर्णालीका अस्पतालमा बिरामीको चाप बढ्दो, स्वास्थ्यकर्मी संक्रमित

कर्णालीका अस्पतालमा बिरामीको चाप बढ्दो, स्वास्थ्यकर्मी संक्रमित

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली प्रदेशमा सबैभन्दा दुई ठुला अस्पताल छन् । प्रदेश राजधानी सुर्खेतमा प्रदेश अस्पताल छ भने जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ । अघिल्ला पहिलो र दोस्रो लहरका कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण यी दुई अस्पतालले राम्रो काम गरेका थिए । 


अहिले संक्रमणको तेस्रो लहरको सुरुमै प्रदेश अस्पतालका ६१ बढी स्वास्थ्यकर्मी र कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशकदेखि स्वास्थ्यकर्मी र कर्मचारी गरी ३० जनालाई संक्रमण देखिएको छ ।


कोभिड–१९ संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ । तर, बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी आफंै थला पर्न थालेका छन् ।

 

एक महिनाअघि दैनिक ३÷४ सय बिरामी आउने प्रदेश अस्पतालमा हाल यो संख्या ह्वात्तै बढेको छ । अस्पतालका अनुसार हाल दैनिक ५ देखि ७ सय जनासम्म सेवाग्राही आउने गरेका छन् । तर, तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सकस भएको छ । 


अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार आइतबारसम्म मात्रै अस्पतालमा कार्यरत ६१ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । कोभिड संक्रमणको तेस्रो लहर नियन्त्रण तथा रोकथामका लागि पूर्वतयारी तीव्र पारिएका बेला स्वास्थ्यकर्मी नै धमाधम संक्रमित बन्न थालेपछि नागरिकलाई स्वास्थ्य सेवा दिन गाह्रो भइरहेको डा. खड्काले बताए ।

 

अस्पतालका कार्यालय सहयोगी, नर्सिङदेखि अप्रेसन थियटरसम्मका ६१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । ‘एकातिर अस्पतालमा दरबन्दीअनुसार कर्मचारी अभाव छ । अर्कोतिर भएका कर्मचारी नै संक्रमित हुँदा सेवा प्रवाहमा सकस छ,’ निर्देशक डा. खड्काले भने, ‘उपलब्ध बाँकी जनशक्तिले ओभर ड्युटी गरेरै भए पनि सेवा रोकेका छैनौँ । तर, यसरी नै कर्मचारी संक्रमित भएर थला पर्न थाले अन्ततः सेवा रोक्नुपर्ने स्थिति आउन सक्छ ।’  हाल प्रदेश अस्पतालमा १३९ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । कोभिड व्यवस्थापनका लागि २० वटा आईसीयू बेड र ७ वटा भेन्टिलेटर व्यवस्थापन गरिएको छ । 

 

सामाजिक विकास मन्त्रालयसँग अभाव कर्मचारी तत्काल पूर्ति गर्न माग गरिएको छ । औषधी उपकरणसँगै बिरामीलाई खाना व्यवस्थापन गर्नेलगायतका विषयमा प्रदेश सरकारसँग रकम माग गरिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

 

अस्पतालका अनुसार सामान्यबाहेक आपतकालीन सेवा दिनुपर्ने बिरामीसमेत ह्वात्तै बढेका छन् । अस्पतालमा सेवा लिन आएका संक्रमित तथा अन्य रोगका बिरामीसँगै स्वास्थ्यकर्मी पनि थला पर्न थालेपछि चिन्ता थपिएको छ ।