close

जुम्लाका ८८ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्धको खोप 

जुम्लाका ८८ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्धको खोप 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा कोरोनाविरुद्धको खोप लगाउने १२ देखि १८ वर्षमुनिका १२ हजार छन् । यसमध्ये १० हजार ५५८ जना अर्थात् ८८ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ । 

 


जुम्लामा १२ वर्षभन्दा माथिका खोप प्राप्त गर्नुपर्ने लक्षित जनसंख्या ८२ हजार ५१३ जना छ । यसमध्ये पहिलो मात्रा खोप लगाएको संख्या ६० हजार ६९२ जना अर्थात् ७२ दशमलव ५५ प्रतिशत छन् । पूर्ण मात्रामा खोप लगाएको संख्या ३७ हजार ३४९ जना अर्थात् ४५ दशमलव २६ प्रतिशत रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले बताइन् । 

 

स्वास्थ्य सामग्री जुटाइँदै
तेस्रो लहरको कोरोना फैलिएसँगै जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले स्वास्थ्य सामग्री जुटाउन सुरु गरेको छ । दोस्रो लहरको समय जुटाइएका स्वास्थ्य सामग्री कम भएपछि गैससलाई सहयोग गर्न आग्रह गरिएको छ । जिल्ला व्यवस्थापन व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंको अध्यक्षतामा बसेको बैठकले विपद्मा जिल्लामा कार्यरत गैरसरकारी संस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरिएको बताइन् ।

 

अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर, पिपिई सेटसहितका स्वास्थ्य सामग्री अभाव भएकाले गैरसरकारी संस्थासँग सहयोगका लागि आग्रह गरिएको उनले जानकारी दिइन् । बैठकमा विपद्मा सहकार्य गरिरहेका गैरसरकारी संस्थाले विपद्को समय डिसिएमसीले गरेका निर्णय र मागलाई माथिल्लो निकायमा पेस गर्ने सहमति जनाएका छन् । जिल्लामा विपद् क्षेत्रमा आईएन एफ नेपाल, पेस नेपाल, किर्डाक नेपाल, सेडा नेपाल, क्याड नेपालसहितका संस्थाको उपस्थिति छ ।


बैठकमा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले संकटको अवस्थामा कार्यक्षेत्र नभनी जिल्लाभर काम गर्ने गरी स्वास्थ्य सामग्री तथा अन्य कार्यक्रम गर्न निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी प्रसार्इंले जिल्लामा मौज्दात सामग्री तत्काल वितरण गरिने र बाँकी गैससले सहयोग गर्ने निर्णय भएको बताइन् ।


पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एन ९५ मास्क, डिस्पोजल मास्क, पिसिआर किट, पिपिई, एन्टिजन किट कमी भएको जानकारी प्राप्त भएको स्थानीय प्रशासनले बताएको छ । दोस्रो लहरको समय गैसस क्षेत्रले ठूलो मात्रामा अक्सिजन सिलिन्डर, मास्कसहितका स्वास्थ्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो ।


जिल्ला प्रशासनमा गत वर्ष संकलित स्वास्थ्य सामग्री ३० वटा अक्सिजन, ८ वटा अक्सिजन कन्सट्रेटर, १५० प्याकेट मास्क, २ सय बोतल स्यानिटाइजर, पिपिई सेट २०० थान, पिपिई गाउन २५० सेट मौज्दात छ ।