close

भक्तपुरमा सिटामोल अभाव

भक्तपुरमा सिटामोल अभाव

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुरका औषधी पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घर–घरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोल माग बढे पनि आपूर्ति नहुँदा अभाव भएको हो ।


भक्तपुरका फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले सिटामोल अभाव भएको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोल अभाव भएको पाइएको बताइन् ।


सिटामोल अभाव भएको गुनासो आएपछि प्रशासनले यहाँका मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायत क्षेत्रका २० वटा औषधी पसलको अनुगमन गर्दा सिटामोल अभाव पाइएको उनले जानकारी दिइन् । 

 

उनले भनिन्, ‘गुनासा धेरै आए । हामीले २० भन्दा बढी औषधी पसलमा अनुगमन ग¥यौँ । सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।’ उनले औषधी व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिइन् ।


भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पालमा भने सिटामोले अभाव नभएको बताइन् ।  उनले भनिन्, ‘हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा ४ हजार ५०० सिटामोल छ । स्टोरमा पनि छ । भक्तपुर अस्पतालले आफ्नो अस्पतालमा आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।’


ज्वरोका बिरामी ह्वात्तै बढ्दा बाहिर सिटामोल अभाव भएको हुन सक्ने भन्दै उनले भक्तपुर अस्पतालमा दैनिक ७०० बढी बिरामी बहिरंग सेवा लिन आउने गरेको बताइन् । त्यसमध्ये २५० बढी बिरामी ज्वरो आएकै हुने गरेको उनले जानकारी दिइन् । कोरोना संक्रमित बिरामी पनि थपिँदै जाँदा अस्पतालको शय्या भरिन थालेको छ ।


अस्पतालमा रहेको ६ शय्याको आइसियू कोरोनाका बिरामीले भरिएको र आइसियू नचाहिने कोरोनाका बिरामीको चाप पनि बढेको छ । मेसु डा. गौतमले अस्पतालले दैनिक गर्ने कोरोनाको पिसिआर परीक्षणमा ८५ प्रतिशतसम्म पोजेटिभ आउने गरेकामा आइतबार भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोरोना संक्रमण देखिएको बताइन् ।