close

मेलम्ची नगरमा जोडियो अक्सिजन प्लान्ट 

मेलम्ची नगरमा जोडियो अक्सिजन प्लान्ट 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । ९५ लाख रुपैयाँ लगानीमा भवनसहित अक्सिजन प्लान्ट स्थापना गरिएको हो । मेलम्ची नगरपालिका, संसद् विकास कोष र ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको सहयोगमा जडान गरिएको प्लान्टबाट दैनिक ४८ सिलिन्डर अक्सिजन उत्पादन हुने मेलम्ची नगरप्रमुख डम्बरबहादुर अर्यालले बताए ।

 

उनले आइतबारदेखि अक्सिजन उत्पादन सुरु गरेको जानकारी दिए । ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सके मात्र नागरिकले राज्यको अनुभूति गर्ने भन्दै नगरप्रमुख अर्यालले प्लान्ट सञ्चालनपछि मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजन अभाव नहुने बताए । ‘कोरोनाको चपेटामा परिरहेका नागरिकलाई अलिकति भए पनि राहत महसुस होस् भनेर यो प्लान्ट स्थापना गरेका हौँ’, अर्यालले भने, ‘यसले मेलम्चीलाई मात्र होइन, आसपासका क्षेत्रमा समेत अक्सिजन आपूर्ति गर्नेछ ।’


प्लान्ट स्थापनाका लागि सांसद शेरबहादुर तामाङले स्थानीय साझेदारी कार्यक्रम, ०७७ अन्तर्गत मेलम्ची नगर पूर्वाधार विकास कार्यक्रममा विनियोजन भएको रकममध्ये ३३ लाख २० हजार रुपैयाँ छुट्याएका थिए । बाँकी रकम नगरपालिका र ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिले थप गरेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए ।

 

अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको नगरपालिकाका जनस्वास्थ्य प्रमुख ज्ञानेन्द्र घोरसैनीले जानकारी दिए । ‘कोरोना महामारी फैलिरहेको र उपचारमा अक्सिजन अभाव भइरहेको थियो’, उनले भने, ‘अक्सिजन अभाव पूर्ति गर्न प्लान्ट स्थापना गरी उत्पादन सुरु भएको छ, अब अक्सिजको अभाव हुने छैन ।’ अक्सिजन प्लान्ट स्थापना भएसँगै मेलम्ची, हेलम्बु, पाँचपोखरी, इन्द्रावतीलगायत आसपासका नागरिकलाई सहज हुने मेलम्ची नगरपालिकाले बताएको छ ।