close

गोदावरीमा सिटामोल माग बढ्यो 

गोदावरीमा सिटामोल माग बढ्यो 

Trulli
ADVERTISEMENT

कैलाली– कोरोना संक्रमण बढेसँगै गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरियामा सिटामोल (प्यारासिटामोल) को माग ह्वात्तै बढेको छ । सामान्य ज्वरो, शरीर दुखेका बिरामी बढेसँगै बजारमा सिटामोल खरिद माग बढेको हो । अत्तरियास्थित सेवा औषधी पसलका बिक्रेता तिलक रेग्मीले पछिल्लो केही दिनयता सिटामोल किन्न आउने बिरामीको संख्या बढेको बताए । सिटामोल खोज्न मात्रै दैनिक २० देखि २५ जना आउने गरेको उनको भनाइ छ ।

 

सिटामोल खरिद गर्ने बढे पनि पर्याप्त भने नभएको उनले बताए । ‘सिटामोल सकिएपछि धनगढी डिलरमा अर्डर गरेका थियौँ । उता पनि सिटामोल छैन भन्ने सुनियो,’ उनले भने, ‘सिटामोल नहुँदा ग्राहकलाई रित्तै फर्काउनुपरेको छ ।’अत्तरियामा रहेको पुष्पाञ्जली मेडिकल हलका सञ्चालक धनीराम चौधरीले हाल सिटामोलको स्टक भए पनि होलसेल पसलले स्टक सकिएको बताएको सुनाए । ‘मैले अलि बढी स्टक गरेकाले साता दिनसम्म पुग्ला । अहिले दिनमा १ हजार ट्याब्लेट बिक्री भइरहेको छ’ उनले भने, ‘थप सिटामोलका लागि होलसेल पसलमा कुरा गर्दा स्टक नभएको भनियो ।’

 


मेरी मेडिकलका औषधी बिक्रेता प्रेम कुँवरले सिटामोलको सीमित स्टक भएको बताए । ‘हाल मेडिकलमा ८ सय पिस जति सिटामोल छ,’ उनले भने, ‘मेडिकलमा दैनिक ३ सय हाराहारी बिरामी आउने गरेकामा २ सय जतिले सिटामोल माग्ने गरेका छन् ।’ अत्तरियाको पिडी पोलिक्लिनिकका सञ्चालक गणेश जिमी साउदले पसलमा एक बट्टा मात्रै सिटामोल स्टक भएको बताए । ज्वरोका बिरामी बढेकाले सिटामोल अभाव देखिन थालेको उनको भनाइ छ ।


‘यो जनरल मेडिसिन हो । काउन्टर सेल औषधी भएकाले जोसुकै आएर औषधी पसलबाट माग्न सक्छन् । त्यसैले यो औषधी ज्वरोका बिरामी बढ्दा बढी खपत हुन्छ,’ उनले भने, ‘केही मान्छेले दुखाइ, ज्वरोका लागि काम लाग्छ भनेर घरमा स्टक राख्ने गरेका हुन्छन् ।’


अत्तरियाका ठूला अस्पतालमा भन्दा साना औषधी पसलमा बढी सिटामोल बिक्री हुने गरेको छ । अत्तरियामा रहेको पद्मा अस्पतालले सिटामोल अभाव नभएको जनाएको छ । अस्पतालका फार्मेसी इन्चार्ज रतन चौधरीले सिटामोल बिक्री धेरै नहुने भएकाले अभाव नभएको उनको भनाइ छ । गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालले सिटामोल पर्याप्त रहेको बताएको छ ।


अस्पतालका जनस्वास्थ्य निरीक्षक महेशदत्त पाण्डेले अस्पतालमा १० हजार बढी ट्याब्लेट स्टक रहेको जानकारी दिए । उनले अस्पतालबाट दैनिक २ सय प्याकेट सिटामोल वितरण हुने गरेको बताए । हाल देशभरै सिटामोल अभाव भएको गुनासो आउन थालेको छ ।

 

उपभोक्ताको गुनासोपछि सरकारले सिटामोल अभाव तत्काल समाधान गर्न निर्देशन दिए पनि बजारमा अझै पर्याप्त मात्रामा पाउन नसकिएको नागरिक बताउँछन् । अत्तरिया क्षेत्रका खुद्रा औषधी बिक्रेताले डिलरमा सिटामोल माग गरे पनि नपाइएपछि प्रशासनलाई अनुगमन आग्रह गरेका छन् ।