close

बाजुरामा लगाइँदै बुस्टर खोप 

बाजुरामा लगाइँदै बुस्टर खोप 

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुरामा मंगलबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिन सुरु गरिएको छ । खोपको उपलब्धतासँगै मंगलबारबाट पालिकाले तोकेको खोप केन्द्रबाट बुस्टर डोज खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए ।

 

पहिलो चरणमा ४ हजार बुस्टर डोजको खोप आएको प्रमुख पन्तले बताए । पहिलो चरणमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, पत्रका, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायतलाई दिइनेछ । बुस्टर डोज खोप दिने कार्यक्रमको सुरुआत बाजुराका संघीय सांसद लालबहादुर थापाले गरे ।

 

कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएका ६ महिना पुगेको अग्रपंक्तिमा खटिनेलाई तेस्रो मात्रा (बुस्टर डोज) लगाइने कार्यालय प्रमुख पन्तले बताए । पालिकाले तोकेका खोप केन्द्रमा पुगेपछि मंगलबारबाट कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएका ६ महिना पुगेकालाई मात्र बुस्टर डोज दिइने कार्यालय प्रमुख पन्तको भनाइ छ ।


बाजुरामा हालसम्म १८ वर्षभन्दा माथिका ८२ प्रतिशत नागरिकले पहिलो डोज तथा ५७ प्रतिशतले दोस्रो डोज लगाइसकेका छन् । पहिलो डोज ८० हजार ८ सय ८० ले लगाएका छन् भने दोस्रो डोज लगाउनेको संख्या ५७ हजार १ सय २५ रहेको छ ।

 

त्यस्तै, १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशतले पहिलो डोज लगाएका छन् भने सोही समूहका १७ हजार ६ सय ३७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांकमा उल्लेख छ । ‘पहिलो पटक ४ हजार डोज आएको छ । १८ वर्षमाथिका र ६० वर्षमुनिकालाई लगाउँदै छौँ’, कार्यालय प्रमुख पन्तले भने ।